गण्डकी प्रदेश र ७ जिल्लाका पुरानै कार्यालयमा फर्कियो एमाले
२५ फागुन, पोखरा । बागलुङ जिल्लामा नेकपा पार्टीका अध्यक्ष प्रदेश सांसद इन्द्रलाल सापकोटा थिए ।प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णय गरेपछि माधवकुमार नेपाल समूहका सापकोटा पनि आन्दोलनमा उत्रिए । संसद पुनर्स्थापना गरेको सर्वोच्च अदालतले आइतबार नेकपाको एकीकरण नै खारेज गरेर नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदियो ।
सर्वोच्चको फैसला कार्यान्वयन गरेर पूर्व पार्टीमै लाग्ने माधव–प्रचण्ड समूहले निर्णय गरेपछि मंगलबार केन्द्रसहित जिल्लाजिल्लामा आफ्ना कार्यालयमा बोर्ड फेर्ने काम भयो । बागलुङमा अध्यक्ष इन्द्रलालकै अगुवाईमा मंगलबार एमालेको कार्यालय स्थापना गरी बोर्ड फेरिएको छ ।
‘सर्वोच्चको फैसलालाई कार्यान्वयन गर्न मेरै अगुवाइमा नेकपाको कार्यालय रहेकै ठाउँमा एमालेको बोर्ड राखिएको छ,’ सापकोटाले भने, ‘हिजोको परिस्थिति जे भए पनि अब पूर्व कार्यालय खोल्नै पर्यो ।’
बागलुङमा भाडाको घरमा नेकपाको कार्यालय खोलिएको थियो । त्यहाँ एमालेले आफ्नो कार्यालय राखेपछि माओवादी केन्द्र अर्को ठाउँमा कार्यालय राख्नुपर्ने भएको छ । गण्डकी प्रदेश र बागलुङसहित ७ जिल्लामा मंगलबार एमालेले आफ्ना कार्यालयमा बोर्ड फेरेको छ ।
