चितवनमा उद्योग खोल्नेको लर्को, कर्मचारीलाई काम गर्न भ्याइनभ्याई


केही महिना अघिसम्म सुनसान देखिने घरेलु तथा साना उद्योग कार्यालयमा अचेल चहलपहल बढेको छ। यो कार्यालयका झ्यालहरू दिनभरजसो सेवाग्राहीले छोपिन्छन्। कर्मचारीलाई उनीहरूको काम गर्न भ्याइनभ्याई छ।



गत वर्षको दोस्रो त्रैमासिकदेखि घरेलु तथा साना उद्योग कार्यालयबाट सेवा लिनेको चाप बढेको तथ्यांकले देखाउँछ। चैतमा लकडाउनले बन्द भएको कार्यालयमा लकडाउन खुलेपछि सेवाग्राहीको चाप ह्वात्तै बढेको कार्यालयले जनायो।घरेलु तथा साना उद्योग कार्यालयले ५ लाख रुपैयाँदेखि ५ करोड रुपैयाँसम्म पुँजी भएका उद्योग दर्ता गर्ने गरेको छ। आर्थिक वर्ष २०७७/०७८ को साउनदेखि पुस मसान्तसम्म यस कार्यालयमा ८ सय ६५ वटा फर्म दर्ता भएका छन्।




सो अवधिमा १ हजार २ सय ६२ जना आफ्नो फर्मको नविकरण गर्न कार्यालय पुगेका थिए। ३ सय ८९ ले फर्म संशोधन, १ सय ५८ ले खारेज, ९५ ले प्रतिलिपि र १८ जनाले स्थानान्तरणको काम गरेको कार्यालयका लेखा अधिकृत नारायणप्रसाद लम्सालले बताए।पुस महिनामा मात्रै यस कार्यालयमा २ सय ६ जनाले उद्योग/व्यापारका लागि फर्म दर्ता गरेका छन्। ती उद्योगहरूको कुल पुँजी ३ अर्ब १ लाख २४ हजार रूपैयाँ छ।

‘फागुन सकिन लाग्यो हामीले माघ महिनाको सबै विवरण कम्प्युटरमा इन्ट्री गर्न भ्याएका छैनौं,’ लम्सालले भने, ‘कामको चाप असाध्यै बढेको छ, शनिबारसमेत काम गर्दा पनि डाटा इन्ट्री गरेर सकिएको छैन।’



सम्बन्धित
Loading...