पशुपतिनाथमा साढे दुई लाख दर्शनार्थीले गरे दर्शन
महाशिवरात्रिका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।
कोरोनाको जोखिम कायमै रहे पनि भक्तजन मास्कलगायत स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर दर्शन एवं पूजा आराधनाका लागि शिवालयमा गएका हुन् । पशुपतिनाथ मन्दिरमा बिहान साढे ११ बजेसम्म करिब साढे दुई लाख दर्शनार्थीले दर्शन गरेका छन् । पशुपतिनाथ मन्दिरमा एक घण्टाभित्र दर्शन गरेर फर्कन सकिने गरी व्यवस्थापन गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए । बिहान भने आधा घण्टामै दर्शन गरेर फर्कन सकिने थियो ।
बिहान १० बजेपछि भक्तजनको भीड बढ्न थालेकाले एक घण्टामा दर्शन गरेर फर्कन सकिने छ । बेलुकीसम्म करिब आठ लाख भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन गर्ने अनुमान गरिएको छ । आज राति दर्शनार्थी आएसम्म मन्दिर खुला रहने जनाइएको छ ।
यसैगरी काठमाडौँ महानगरपालिका–३२ स्थित पेप्सीकोला टाउनप्लानिङमा रहेको नागेश्वर महादेव मन्दिरमा पनि आज बिहान ३ बजेदेखि नै भक्तजनका लागि चार ढोका खोलेर दर्शन गर्ने व्यवस्था मिलाइएको छ । बिहानदेखि अहिलेसम्म करिब पाँच हजारभन्दा बढी भक्तजनले दर्शन गरिसकेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाशजङ्ग राजयमाझीले राससलाई जानकारी दिए ।