कावासोतीका सबै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र, सबै वडामा गरियो भवन शिलान्यास
- रामकुमार श्रेष्ठ –

नवलपरासी, २७ फाल्गु्न । पूर्वी नवलपरासीको कावासोतीका सबै वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ ।
१७ वटा वडा रहेको कावासोती नगरपालिकामा साविकको गाविस रहँदाको ५ वटा स्वास्थ्य चौकी ५ वटा वडामा, एउटा वडामा सहरी स्वास्थ्य केन्द्र र बाँकी ११ वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएको हो ।
५ वटा स्वास्थ्य चौकी र एउटा वडा सहरी स्वास्थ्य केन्द्रको आफ्नै भवन भए पनि आधारभूत स्वास्थ्य केन्द्र भवन नभएका कारण विहीबार ११ वटै भवन शिलान्यास गरिएको हो ।
स्वास्थ्य आमनागरिकको नैसर्गिक अधिकार हो । प्रत्येक वडा तहसम्म कम्तिमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना हुनु पर्ने व्यवस्था रहेको छ तर कतिपय पालिकामा अझै वडा तहमा स्वास्थ्य सेवा पुग्न सकेको छैन ।
पूर्वी नवलपरासीको कावासोतीमा भने सबै पालिकामा आधारभूत स्वास्थ्य केन्द्र पुगेको छ । ५ वटा वडामा स्वास्थ्य चौकी रहेको छ भने एउटा वडामा सहरी स्वास्थ्य केन्द्र र बाँकी ११ वटा आधारभूत स्वास्थ्य केन्द्र रहेका छन् ।
गत बर्ष नै कावासोतीका सबै वडामा आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माणका लागि बजेट विनियोजन गरिएको भए पनि भवन निर्माणका लागि लालपूर्जा भएको जग्गा नहुँदा गत बर्ष भने बजेट फ्रिज भएर गएको कावासोती नगरपालिकाका नगर प्रमुख चन्द्राकुमारी पुनले बताए । तर यस बर्ष भने लालपूर्जा भएको जग्गा नचाहिने भएका कारण असार मसान्तसम्म भवन निर्माण गरिसक्ने गरी काम बढाइएको नगरप्रमुख पुनले बताइन् ।
नगरपालिकाले एउटा आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माणका लागि प्रति भवन ४५ लाखको दरले टेन्डर आव्हान गरेको थियो । तथापि भवन निर्माणका लागि भ्याट बाहेकको २४ लाख रुपैयाँमा टेण्डर स्वीकृत भएको र सोही अनुसार असारमसान्त भित्र काम सक्ने गरी काम अगाडि बढेको कावासोती नगरपालिकाका इन्जिनियर पवत रुपाखेतीले बताए ।
वडा वडा तहमा आधारभूत स्वास्थ्य केन्द्र पुगेपछि खुसी भएका वडा बासीहरु आधारभूत स्वास्थ्य केन्द्रका लागि भवन नै निर्माण हुने भएपछि थप उत्साही भएका देखिन्थे ।
यसैबीच कावासोती ८ मा कावासोती नगरप्रमखु चन्द्रकुमारी पुनले र कावासोती ९ को नगरउपप्रमुख प्रेमशंकर मर्दनियाले भवनको शिल्यान्यास गरेका थिए ।
कावासोती ९ मा भएको शिलान्यास कार्यक्रम कावासोती ९ का वडा अध्यक्ष नेत्रप्रसाद खतिवडाको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सञ्चालन कावासोती प्राविका प्रधानाध्यापक ईश्वरी श्रेष्ठले गरेका थिए ।
त्यसैगरी कावासोती ८ को शिलान्यास कार्यक्रम कावासोती ८ का वडा अध्यक्ष आनन्द गुरुङको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नगरउपप्रमुख प्रेमशंकर मर्दनिया, स्वास्थ्य शाखा प्रमु्ख पारेश्वर भुर्तेल लगायतले बोलेका थिए ।
https://www.youtube.com/watch?v=CvQOlSJfYqg