भक्तपुरबाट ४२ लाख रुपैयाँसहित दुई पक्राउ


२८ फागुन, काठमाडौं । भक्तपुर प्रहरीले ४२ लाख बढी अवैध नगदसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखाको बैतेश्वर–६ घर भई हाल भक्तपुरको बालकोट बस्ने ३२ वर्षीय सुमन घिमिरे र काठमाडौंको माकलबारी बस्ने ३७ वर्षीय बिनोद तामाङ छन् ।उनीहरु दुवैलाई शुक्रबार सम्पति शुद्धीकरण विभाग पुल्चोक, ललितपुरमा पठाइएको प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।



जुवातास खेलाई सोबाट आर्जन गरेको नगद रुपैयाँ लिएर हिँडिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसरमा कार्यरत प्रहरी निरीक्षकद्वय शशीघर शर्मा र सुदन केसीको कमाण्डमा छुट्टाछुट्टै टोली परिचालन भएका थिए । सो टोलीले बिहीबार बिहानपख २ बजेतिर पेप्सीकोलाबाट सानोठिमी तर्फ आउँदै गरेको बा २१ च ३८३९ नं.को नीलो रंगको कारको डिक्कीबाट २७ लाख रुपैयाँ नगद बरामद गरेको थियो ।

प्रहरी नायव उपरीक्षक गिरीका अनुसार कार चालक तामाङले दिएको बयानको आधारमा प्रहरीले बालकोटमा डेरा गरी बस्ने घिमिरेको खोजी सुरु गरेको थियो । पेप्सीकोलामा फेला परेका घिमिरेले उक्त रकम आफ्नो भनी स्वीकार गरेका थिए । बालकोटस्थित डेरामा समेत खानतलासी गर्दा प्रहरीले थप १५ लाख ३० हजार नगद बरामद गरेको थियो ।

घिमिरेको नाममा काटिएको २ लाख ५० हजार रुपैयाँको राष्ट्रिय वाणिज्य बैंकको चेक पनि बरामद भएको प्रहरीले जनाएको छ ।

यसैगरी ९ लाख ५० हजार रुपैयाँको प्राइम बैंकको बाउन्स चेक र एक लाख २५ हजार रुपैयाँको स्ट्याण्डर्ड चार्टर्ड बैंकको चेक, नेपाल बैंक लिमिटेडको ९ लाख ९९ हजार रुपैयाँको चेक र महालक्ष्मी विकास बैंकको १५ लाख रुपैयाँको चेक र मनास्लु डिस्ट्रिलरीको नाममा ७२ हजार रुपैयाँ नगद जम्मा गरेको भौचर बरामद भएको छ ।



सम्बन्धित
Loading...