हिमालमा एनजिओको खुलेयाम लुट धन्दाः सगरमाथामा टाँगिएको डोरी नउठाउदा फोहोर र दुर्घटना बढ्दो
सगरमाथा आरोहणका क्रममा आरोहण सञ्चालक संघ नामक संस्थाले आरोहीलाई सहज बनाउन टाँगिएको डोरी बर्षोदेखि नउठाइदा फोहोर बढेको छ भने पुरानो डोरीका कारण दुर्घटना हुने गरेको आरोहीहरुको आरोप छ । यो संस्थाले सगरमाथा,ल्होत्से र नुप्सेका लागि क्याम्प दुई भन्दा माथि वर्षेनी डोरी (रोप) टाँग्दै आएको छ तर हालसम्म डोरी फिर्ता ल्याउने गरेको छैन ।
आरोहणका क्रममा वर्षो अघि देखिको डोरी बाटोमा भेटिन्छ र नयाँ पुराना डोरी नचिनिदाँ चुटिएर दुर्घटना हुने गरेको समेत आरोहीहरुको आरोप छ । बार्षिक रुपमा करिव पाँच हजार मीटर डोरी टाँगेर छाडीदा बाटै भरी छरपष्ट भएर आरोहीलाई समस्या हुने गरेको फूर्वा नाम्ग्यल शेर्पाले बताए । सगरमाथामा आरोहणको ६५ बर्ष देखि बर्षेनी टाँगीएको डोरी उठाइएको छैन ।
आरोहण सञ्चालक संघले पछिल्लो समय डोरी टाँगेर बाटो निर्माण गर्ने भन्दै प्रत्येक आरोहीसँग दुई सय अमेरिकी डलर असुल्दै आएको छ । न कुनै वोलपत्र त न ठेक्का आफुखुसी मुल्य तोकेर रकम असुल गर्दा समेत सरकारी पक्ष मुखदर्शक बन्दै आएको छ ।
डोरी टाँग्ने र सिजनमा आरोहण सम्पन्न भए पछि डोरी पुनः उठाउनु पर्ने भएता पनि सरकारी अनुगमन नहुदाँ हिमालमा जथाभावि डोरी छाडिएको हो । पुराना डोरी मक्कीएको हुने र अनुभव नभएका गाइड र आरोहीले नयाँ डोरी नचिन्दा दुर्घटना समेत हुने गरेको आरोहीहरुको भनाई छ ।
