नवलपुरका मदिरा व्यवसायी बीच मदिरा व्यवसाय सभ्य व्यवसाय बनाउने प्रतिबद्धता
नवलपुर । नवलपुर मदिरा तथा प्रोभिजनल व्यवसायी संघ तथा पूर्वी गैंडाकोटका मदिरा ब्यवसायी बीच अन्तक्रिया भएको छ ।
पेशागत हक हितका साथै व्यवसायिक सुदृढीकरण र प्रबद्र्धनका लागि आगामी दिनहरुमा संघले अवलम्बन गर्ने योजना आदिका बारेमा अन्तरक्रियामा छलफल भएको थियो ।
अन्र्तक्रिया कार्यक्रममा संघका सचिव प्रभात न्यौपाने र अध्यक्ष रेशमलाल चापागाईले आफ्ना भनाइ राखेका थिए । उनीहरुले व्यवसायमा अहिले देखिएका कतिपय चुनौतीहरुलाई सबैको सल्लाह र सुझाव अनुसार मिलेर सामना गर्नुपर्नेमा जोड दिएका थिए ।
अन्तरक्रिया कार्यक्रममा सामुहिक छलफल पनि भएको थियो ।
सामुहिक छलफलमा सदस्यहरुले राखेका जिज्ञासाहरूको जवाफ संघका नवलपुर अध्यक्ष रेशमलाल चापागाईले दिएका थिए । अन्र्तक्रिया कार्यक्रम पछि बसेको संघको बैठकले यसअघि व्यवसायीहरुले फरक फरक मूल्यमा मदिरा बिक्री वितरण गरिएको पाइएकोले मूल्यमा एक रूपता कायम गर्ने निर्णय गरेको छ ।
यसैगरी प्रत्येक सोमवार अनिवार्य पसल बन्द गर्ने र दर्ता नभएका पसलहरुलाई निरुत्साहित गर्ने निणर्य गरिएको माताकालिका सप्लायर्सका पूर्णप्रसाद शर्माले जानकारी दिए ।
यसैगरी मदिरा व्यवसायिहरु बीच सुमधुर सम्बन्ध विकसित गर्दै स्वस्थ्य प्रतिस्पर्धा सहितको मर्याहित व्यवसायलाई प्रोत्साहन गर्ने निणर्य भएको सार्थक सप्लायर्सका प्रोप्राइटर सन्दिप तिवारीले जानकारी दिए ।
यसैबीच सोही बैठकले मदिरा व्यवसायी मुक्तिनाथ अधिकारीलाई तदर्थ समितिमा सिफारिस गरेको छ भने जीवन रेग्मीको संयोजकत्वमा पूर्वी गैडाकोटबाट प्रतिनिधित्व हुने गरि संघको गैंडाकोट उपसमिति चयन गरेको छ ।
उपसमितिको सदस्यहरूमा बिमल लम्साल, संन्दिप तिवारी, कमलनारायण न्यौपाने र रितेश शर्मा चयन भएका छन् । संघका सदस्य मुक्तिनाथ अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन संघका सदस्य बिमल लम्सालले गरेका थिए ।
