नयाँ भवन बनाउन प्रदेश सरकारले दियो पृथ्वी चन्द्र अस्पताललाई २५ करोड रुपैयाँ




परासी, चैत १ । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको जिल्ला अस्पताल पृथ्वी चन्द्र अस्पतालको नयाँ भवन निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले २५ करोड २१ लख रुपैयाँ प्रदान गरेको छ ।

बहुवर्षीय योजनाको रुपमा काम गर्ने गरी २५ करोड २१ लाख रुपैयाँ स्वीकृत भएको अस्पताल विकास समितिका अध्यक्ष जगदिश चौधरीले जानकारी दिए ।




अस्पताल परिसरमै रहेको भण्डार कक्ष रहेको भवनको जमिनलाई प्रयोग गरी नयाँ भवन निर्माण गरिने छ । अस्पताल निर्माण कार्य यसै वर्षदेखि सुरु हुने छ । लामो समय सम्म गरेको पहल पछि अस्पतालको नयाँ भवन निर्माणका लागि बजेट विनियोजन भएको अध्यक्ष चौधरीले बताए ।

नयाँ भवन निर्माणका लागि चालु आर्थिक वर्षमा २ करोड रुपैयाँ खर्च गर्ने अख्तियारी रहेको छ भने आगामी दुई आर्थिक वर्षमा बाँकि रकम खर्च हुने छ । प्रदेश सरकारका मार्फत योजना स्वीकृत र बजेट सुनिश्चितता भएपछि भवन निर्माण हुने तय भएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मोहम्मद नुरुल होदाले बताए ।

समाजिक विकास मन्त्रालयले शहरी विकास तथा भवन डिभिजन कार्यालय बुटवललाई पत्र लेखेर बजेट सुनिश्चितता भएको जानकारी गराएको छ ।

यसअघि अस्पतालको नयाँ भवन निर्माणका लागी डिपिआर लगाएताका काम भईसकेको छ । यसै वर्ष ठेक्का प्रक्रिया सुरु हुने जनाईएको छ ।



सम्बन्धित
Loading...