राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
काठमाडौं । राष्ट्रिपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार भेटवार्ता भएको छ। राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा प्रधानमन्त्रीको स्वीट्जरल्याण्ड भ्रमणलगायत समसामीयक विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
भेटमा प्रधानमन्त्री ओलीले डाभोसमा सम्पन्न विश्व आर्थिक मञ्चमा नेपालको सहभागिता, स्विट्जरल्याडसँग भएको भएका आपसीहित र छलफलका बारेमा राष्ट्रपतिलाई जानकारी गराएको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। भेटमा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली, अर्थमन्त्री डा युवराज खतिवडाको पनि सहभागीता रहेको थियो। प्रधानमन्त्री ओली पाँच दिवसीय स्विट्जरल्याण्ड भ्रमणपछि शनिबार स्वदेश फर्किएका हुन्।
विश्व आर्थिक मञ्चका संस्थापक तथा कार्यकारी अध्यक्ष प्राध्यापक क्लाउस स्वाबको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली डाभोस गएका थिए। मञ्चको ४९औँ बैठकमा उनले त्यहाँ दुईवटा सत्रलाई सम्वोधन गरेका थिए।