चेपाङ गाउँमा शैक्षिक प्रगति : एउटै कक्षामा पटकपटक पढ्ने बाध्यता हट्यो
लोथर (कान्दा) । पास भएर पनि पटकपटक एउटै कक्षामा पढ्ने रहर कसलाई होला र ! तर, माथिल्लो कक्षामा पढ्ने अवसर नपाउँदा एउटै कक्षामा पटकपटक पढ्न बाध्य चितवनको विकट पहाडी चेपाङ गाउँ कान्दाका विद्यार्थी अहिले उक्त समस्याबाट मुक्त भएका छन् । अहिले कान्दामै ८ कक्षासम्मको पढाइ हुन थालेको छ ।
सीमान्तकृत चेपाङ समुदायको शैक्षिक उन्नयनका लागि विद्यालयको तह थप भएपछि आफूहरु खुसी भएको अभिभावक सीताबहादुर चेपाङको प्रतिक्रिया छ । थानीय बुद्धि चेपाङ प्रतिनिधि पात्र हुन्, जसले कान्दास्थित कान्देश्वरी आधारभूत विद्यालयमा ३ पटकसम्म कक्षा ५ मा पढे । पास भएर पनि उनी पटकपटक कक्षा ५ मा पढे । यसरी पटकपटक पढ्नुको बाध्यता उनलाई मात्र नभएर सो गाउँका सबैलाई थियो, जो ५ कक्षा पास हुन्थे । तर, आफूभन्दा साना भाइबहिनीले ५ कक्षा पटकपटक पढ्न नपर्ने भएपछि बुद्धि खुसी छन् ।
माथिल्लो तहमा अध्ययनका लागि चेपाङ समुदायमा उच्च शिक्षाप्रतिको मह¤वबारे कम ज्ञान हुनु एउटा कारण थियो भने अर्को उनीहरुको गरिबी थियो ।
‘विद्यालय नै नजाने बालबालिकाहरु बिस्तारै विद्यालय आउन थालेका थिए, पढ्ने बानी बसेको थियो तर ५ कक्षाभन्दा माथि पढ्न नपाएपछि कोही बिहे गर्थे, कोही कामका लागि गाउँ छाडेर जान्थे, अभिभावक सीताबहादुरले भने, ‘अहिले ५ बाट थपिएर ८ कक्षासम्म भएपछि हामी अभिभावक खुसी छौँ ।’
