नारायणी नदीमा जलयात्रा २० करोड लगानीमा जेटबोट चल्दै
भरतपुर । इक्वेटर एक्पिडिसन नेपाल प्रालिले नारायणी नदीमा मोटरबोट सञ्चालन गर्ने भएको छ । संस्थाका प्रमुख महेन्द्रसिंह थापाले नारायणी नदीकेन्द्रित रहेर जल पर्यटनको विकास गर्न लागिएको बताए । यस आयोजनाको अनुमानित लागत २० करोड रहेको छ । देशका झन्डै २ दर्जनजति नदीमा बोट सञ्चालन गरेका थापाको सिन्धुपाल्चोकमा चर्चित सुकुटे बिच रहेको छ ।
चीनबाट आयात गरिने दस सिट क्षमताका ५ वटा जेटबोट र २ सिट क्षमताको ५ वटा जेट स्की सञ्चालन गरिने भएको छ । आन्तरिक तथा बाह्य पर्यटन विकास, राजस्व संकलनमा विकास र यातायात सुविधाका हिसाबले मोटरबोट सञ्चालन गर्ने तयारी गरिएको उनले बताए ।
गैँडाकोटस्थित कुसुमघाटदेखि देवघाटसम्म मोटरबोट सञ्चालन गरिने भएको छ । झन्डै १० किमी जलयात्रा २० मिनेटको अवधिमा पूरा गरिने प्रमुख थापाले बताए । बोट सञ्चालनका लागि २ जना अनुभवी चालकको समेत व्यवस्था गरिएको छ ।
‘कुसुमघाटमा सुन्दर रिसोर्ट बनाउने तयारी छ’, प्रमुख थापाले भने, ‘यसले पर्यटकलाई खान–बस्नमा सुविधा हुनेछ र विदेशमा गएर समुद्रछेउछाउमा लिने मज्जा हामी यहीँ नारायणी नदीमा नै दिने तयारी पार्दैछौँ ।’
मंगलबार आयोजित प्रारम्भिक वातावरणीय परीक्षणसम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै यस क्षेत्रका स्थानीय तह प्रमुख एवं वडा अध्यक्षहरुले जल प्रदूषण र ध्वनि प्रदूषण हुन नहुने बताए । देवघाट गाउँपालिका अध्यक्ष दुर्गाबहादुर थापाले विकाससँगै यसले पार्ने असरहरुका बारेमा बेलैमा ख्याल गरी असर न्यूनीकरणमा ध्यान दिनुपर्ने बताए । भरतपुर महानगर वडा नं–१ का अध्यक्ष जयराम श्रेष्ठले ग्रीज आयल हुने, साउन्ड सिस्टम रहने हुँदा समस्या हुने हुने गरेको भन्दै यसतर्फ ध्यान दिन आग्रह गरे ।
वातावरण संरक्षण ऐनअनुसार माछा वा अन्य जलचर भएको कुनै पनि नदी वा तालमा इन्जिनजडित उपकरण र इन्धन प्रयोग गरी ¥याफ्टिङ गर्दा वा क्रुज सञ्चालन गर्दा प्रारम्भिक वातावरणीय परीक्षण गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । नारायणी नदीमा अहिले पनि केही मोटरबोट चलिरहेका छन् । शिवघाटमा मिनी पानीजहाज बनिरहेको छ ।
