मकवानपुरमा ८ महिनामा १७४ वटा दुर्घटना, ४४ जनाको मृत्यु
हेटौंडा । मकवानपुरमा चालु आर्थिक वर्षको आठ महिना अवधिमा सवारी दुर्घटनाका १७४ वटा घटना भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको फागुनसम्मको अवधिमा जिल्लाका विभिन्न स्थानमा गरी कुल १७४ वटा दुर्घटना भएको हो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा मकवानपुरमा सवारी दुर्घटनाका घटनामा वृद्धि भएको पाइन्छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा मकवानपुरमा कुल १२० वटा सवारी दुर्घटनाका घटना भएका थिए ।चालु आर्थिक वर्ष समाप्त हुन ४ महिना बाँकी रहँदा मकवानपुरमा अघिल्लो आर्थिक वर्षको तुलनामा ५४ वटा बढी दुर्घटना भइसकेको छ ।
मकवानपुरमा चालु आर्थिक वर्षको ८ महिना अवधिमा सबैभन्दा कम भदौमा र सबैभन्दा बढी असोजमा दुर्घटना भएको छ ।ट्राफिक कार्यालयको तथ्याङ्कअनुसार मकवानपुरमा चालु आर्थिक वर्षको साउनमा २७, भदौमा ८, असोजमा ३५, कात्तिकमा २४, मंसिरमा २३, पुसमा १६, माघमा २७ र फागुनमा २७ वटा दुर्घटना भएको छ । चालु आर्थिक वर्षमा भएका दुर्घटनामा २५६ वटा सवारीसाधन संलग्न भएका छन् ।
८ महिनामा ४४ जनाको मृत्यु
मकवानपुरमा चालु आर्थिक वर्षमा भएका १७४ वटा दुर्घटनामा परी ४४ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको भदौ महिनामा भएका ८ वटा दुर्घटनामा कसैको पनि मृत्यु नभएको ट्राफिक प्रहरीको तथ्याङ्क छ भने असोज महिनामा भएको ३५ दुर्घटनामा परी सबैभन्दा बढी १३ जनाको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षमा भएका सवारी दुर्घटनामा परी साउन महिनामा ७, असोजमा १३, कात्तिकमा ३, मंसिरमा ४, पुसमा ३, माघमा ५ र फागुनमा ९ जनाको मृत्यु भएको छ ।मृत्यु हुने कुल ४४ जनामध्ये ३७ जना पुरुष, ३ जना महिला र ४ जना बालक छन् । दुर्घटनामा १३९ जना गम्भीर घाइते भएका छन् भने २१२ जना सामान्य घाइते भएका छन् । अघिल्लो आर्थिक वर्षमा भएको कुल १ सय २० सवारी दुर्घटनामा परी ५८ पुरुष, ८ महिला, एक बालक र दुई बालिकासहित ६९ जनाको मृत्यु भएको थियो भने ९४ जना गम्भीर र १०२ जना सामान्य घाइते भएका थिए ।