विद्यार्थी कुट्ने क्याम्पसका अध्यक्ष प्रहरी हिरासतमा




हरि शर्मा –
परासी, ६ चैत / विद्यार्थी कुट्ने क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रहरी हिरासतमा पुगेका छन् ।

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकास्थित त्रिभुवन बहुमुखी क्याम्पस बेलाटारीका सञ्चालक समितिका अध्यक्ष नितेश गुप्ताले विद्यार्थीलाई कुटपिट गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।




विज्ञापनलगायतका अन्य प्रकृया नपु¥याई क्याम्पसमा सहलेखापाल नियुक्ति गरेको भन्दै विद्यार्थीले बिरोध गर्दै आएका थिए । सोही विषयमा बिहीबार क्याम्पस प्रशासनमा बुझन् गएका विद्यार्थी सोभित हलुवाई र कमल ढकाललाई अध्यक्ष गुप्ताले कुटपिट गरेको विद्यार्थीहरुले बताएका छन् ।

कुटपिटमा संलग्नलाई कारबाहीको मागगर्दै विद्यार्थीहरु आन्दोलनमा उत्रेपछि प्रहरीले अध्यक्ष गुप्तालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।

‘सहलेखापाल नियुक्तिको विषयमा प्रस्ट पार्न यसअघि निवेदन दिएका थियौ । सोही निवदेनका बारेमा क्याम्पस प्रमुखको कार्यकक्षमा पुगेपछि अध्यक्षले जथाभावि कुटपिट गर्न थाले ।’ हलुवाईले भने । केही युवासहित आएका अध्यक्षले एक्कासी मुक्का प्रहार गरेर कुटपिट गरेको हलुवाईले बताए ।

विज्ञापन नखुलाई र परीक्षा नै नलिएर धीरज कुर्मीलाई सहलेखापालमा नियुक्ति गरेको विद्यार्थीहरुको आरोप छ । कुटिपिट गर्ने अध्यक्ष प्रहरी हिरासतमा रहेको र आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजु लामाले बताए ।

कुटपिटबाट घाइते भएका विद्यार्थीहरुले कारबाहीको मागगर्दै प्रहरी कार्यालयमा उजुरी दिएका छन् । घाइते विद्यार्थीको अवस्था सामान्य रहेकाले उपचारपछि घर फर्केको डिएसपी लामाले बताए ।

यस विषयमा सम्पर्क गर्दा क्याम्पस प्रमुख मनोजधर दुवेको फोन उठ्न सकेन । सहलेखापाल नियुक्ति गर्ने विषयमा क्याम्पस प्रशासनमा छलफल भइरहँदा आएका विद्यार्थीबीच भनाभन भएको र अध्यक्षले धकेल्दा विद्यार्थीहरु घाईते भएको क्याम्पस प्रमुख दुवेलाई उद्दृतगर्दै डिएसपी लामाले बताएका छन् ।

यसैबीच अनेरास्ववियु नवलपरासीका संयोजक रमेश नेपाली र सचिव भुषाल पौडेलले विज्ञप्ती निकालेर कुटपिटमा संलग्न अध्यक्षलाई कारबाही र राजीनामाको माग गरेका छन् । कारबाही नभए विद्यार्थीहरुले सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ ।



सम्बन्धित
Loading...