राष्ट्रिय निकुञ्जमा सेनाका हजारौँ गस्ती…


राष्ट्रिय सुरक्षा र सडक पूर्वाधार निर्माणसहित बहुआयामिक भूमिकामा रहेको नेपाली सेनाले प्रकृति र दुर्लभ वन्यजन्तु संरक्षणमा समेत महत्वपूर्ण योगदान दिँदै आएको छ ।



प्रकृति संरक्षण र वन्यजन्तु चोरी शिकारी नियन्त्रणमा सेनाले गरिरहेको असरदार सुरक्षा व्यवस्थापनले यस क्षेत्रमा नेपालले प्रयोग गरेको विधि र नमूना विश्वका लागि उदाहरणीय बनेको छ । राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षमा हुने चोरी निकासी रोकथाम नियन्त्रणका लागि  तैनाथ सेनाले नियमित गस्ती, एम्बुस र चेकप्वाइन्ट खडा गरी प्रकृति संरक्षणमा गौरव गर्न लायक काम गरिरहेको सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए ।मुलुकको प्रमुख सुरक्षा अङ्ग सेनाले २०३४ सालदेखि प्रकृति संरक्षण र दुर्लभ वन्यजन्तु चोरी शिकारी नियन्त्रणका लागि  निकुञ्ज तथा आरक्षमा परिचालित हुँदैआएको छ ।

सेनाका आठ गण र सात गुल्मका आठ हजारभन्दा बढी जनशक्ति प्रकृति संरक्षण र वन्यजन्तु सुरक्षामा अहोरात्र खटिरहेकोे उहाँले जानकारी दिनुभयो । चितवन राष्ट्रिय निकुञ्जमा खड्गदल गण, पर्सा राष्ट्रिय निकुञ्जमा सिद्धिबक्स, शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा दि फेमश महिन्द्र दल  र शम्शेर दल, बर्दिया राष्ट्रिय निकुञ्जमा देवीदत्त, बाँके राष्ट्रिय निकुञ्जमा अर्जुनबाण, लाङटाङ राष्ट्रिय निकुञ्जमा विष्णु दल, शुक्ला फाँटा राष्ट्रिय निकुञ्जमा देवी दल गण र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा रामवाण गुल्म तैनाथ छ ।




मुलुकमा १२  राष्ट्रिय निकुञ्ज, एक शिकार आरक्ष, एक वन्यजन्तु आरक्ष र छ संरक्षित क्षेत्र छन् । प्रकृतिक सरक्षण र दुर्लभ वन्यजन्तुको चोरी शिकारी नियन्त्रणका लागि सेनाका १८८ पोष्टबाट खटिने सुरक्षा टोलीले दैनिकजसो हजारौँको सङ्ख्यामा गस्तीे गर्ने, गौडा छेक्ने र घेराबन्दीको कारवाही सञ्चालन हुँदैआएको सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयले जनाएको छ ।सेनाले निकुञ्ज क्षेत्रमा गरेको गस्ती र कारवाहीका क्रममा वन्यजन्तु चोरी शिकारीमा संलग्न भएको अभियोगमा फागुन महिनामा मात्रै विभिन्न निकुञ्जबाट ६७८ लाई नियन्त्रणमा लिएको थियो । सो  अवधिमा विभिन्न निकुञ्ज तथा आरक्षबाट पाँच थान हतियार, ९४ थान जाल–पासो, जेसिबीलगायत ६५ स्थान सवारी साधन, ८९ भारी दाउरा, २४ थान बञ्चरो, ६१ वटा नाम्लो, २० थान हसिया, एक थान ड्रोन, ९० पशुचौपाया, ११ थान आरा, सावेल  १०८, शिशाका गोली र केही बारुद्ध, रुख काट्ने चेन र बसिलालगायत बरामद गरिएको निर्देशनालयले जनाएको छ ।



सम्बन्धित
Loading...