हुप्सेकोटको काउलेमा कुलो चुहावट मर्मत निर्माण
७ चैत्र, नवलपुर ।
हुप्सेकोट गाउँपालिका वडा नं. १ को जुगेपानीमा हुप्सेकोट गाउँपालिकाको समन्वयमा कारीतास नेपालको साफबिन परियोजना अन्तर्गतको आर्थिक सहयोग र जनश्रमदान सहभागितामा सिचाईका लागि कुलो चुहावट मर्मत निर्माणको कार्य भएको छ ।
जुगेपानीका काउलेटोलमा सिचाईमा मदत पुगोस् भनेर ५ सय ४० मिटर प्रचलित पुरानै कच्ची कुलोलाई नै मर्मत–सुधार गरिएको हो ।
स्थानीय टेकबहादुर खाममगरका अनुसार पत्थरखोला मुहान रहेको पतुवाढाप सिचाई कुलोबाट बर्षे खेतीका लागि पानी ल्याउन सहजै भएपनि हिउदमा सिचाईको असुबिधा भोग्दै आउनुपरेको हो ।
पहिलेदेखि नै चलनचल्तीमा रहेको कच्ची कुलोका कारण हिउँदको समयमा मुहानबाट खेतबारीको मुखसम्म पानी ल्याउन नसक्दा यहाँको जमिन खेतीयोग्य भएपनि सिचाईको समस्याका कारण मेहनत र लगानी अनुसारको कृषि उपज उत्पादन नहुँदा जमिन बाँझै राख्नुपर्ने बाध्यता रहेको छ ।
अहिले पिपिसी ढलान सहित मर्मत–सुधारको अवस्थामा रहेको उक्त कुलोको काम सम्पन्न भएपछि भने मुहानदेखि मुखसम्म नै पानीको मात्रा नघटिकनै ल्याउन सकिने भएकाले कुलोको महत्व हिउँदमा धेरै प्रभावकारी हुनेमा स्थानीय आशावादी छन् ।
कुल १ लाख ६५ हजार रुपैया लागत अनुमान गरि मर्मत–सुधार थालिएको ५ सय ४० मिटर लामो उक्त कुलो पक्की बनाउन कारीतास नेपालले ९५ हजार रुपैंया उपलब्ध गराउने फिल्ड मोभिलाईजर रविना बुढाथोकीले बताईन् । मर्मत–सुधारमा स्थानीयले जनश्रमदानमा सहभागिता जनाउँदा बजेट अपुग भएमा हुप्सेकोट गाउँपालिकाका तर्फबाट सहयोग गर्ने गाउँपालिकाकी अध्यक्ष लक्ष्मीदेबी पाण्डेले प्रतिवद्धता भएको बुढाथोकीले बताईन् ।
सिचाई सुबिधा भएका जुँगेपानीकै केही ठाउँहरुमा अहिले ब्यवसायिक कृषि फर्महरुले प्रगति गरेका छन् । छिमेकी गाउँहरुमा बेमौषमी कृषि उत्पादन गरेर मनग्य आम्दानी गरेको देखेका काउलेबासी सिचाईको राम्रो प्रबन्ध भए आफुहरुले पनि सके आयआर्जनको स्रोत बनाउने नसके आफ्नै उपभोगका लागि मात्रै भएपनि खान पुग्ने अन्न–तरकारी फलाउनेमा आशा राखेका छन् ।
पतुवाढाप सिचाई कुलोबाट करीव ७४ हेक्टर जमिन सहित २ सय ६० घरधुरी लाभान्वित हुने जनाईएको