प्रधानमन्त्री बन्नुभन्दा पार्टी बनाउन लाग्नुपर्छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अहिले कांग्रेस प्रधानमन्त्री पदका लागि भन्दा पनि पार्टी बनाउन लाग्नुपर्ने समय आएको बताएका छन् । नेपाली कांग्रेस तरूण विभाग चितवनले शनिबार रत्ननगरमा आयोजना गरेको युवा तरूण जागरण भेलालाई सम्बोधन गर्दै उनले अहिले प्रधानमन्त्री बन्नुभन्दा कांग्रेसलाई निर्वाचनमा पहिलो पार्टी बनाउने समय आएको बताए ।
उनले भने “प्रधानमन्त्री बन्नुभन्दा पार्टी बनाउन लाग्नु पर्छ । टाउकोमा जिम्मेवारी आयो भने पछि पर्नेवाला पनि छैन ।” अहिले नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त सरकार रहेको भन्दै उनले माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता नलिएको बताए । उनले भने “मधेशवादी दल, माओवादी केन्द्र र नेकपा एमालेका ओली र नेपाल कसरी अगाडि बढ्छन् । त्यो हेर्नु पर्छ ।”
उनले निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिए ।
आपसी मतभेदको अन्त्य गर्दै निर्वाचनको तयारी गर्न उनले आग्रह गरे । स्थानीय तहदेखि संघीय निर्वाचनसम्म हुने भएकाले सबैलाई व्यवस्थापन गर्न सकिने भन्दै उनले जनताको घरदैलोमा गएर निर्वाचनका लागि तयारी गर्न आग्रह गरे । उनले भने “जनता मालिक हुन् नोकर होइनन्, भाषण गरेर मत दिँदैनन् । जनताको सुख दुःखमा साथ दिनुस् निर्वाचन जितिन्छ ।”कांग्रेसभित्रको आन्तरिक विवाद टुङ्गाएर अघि बढ्ने समय आएको उनको भनाइ थियो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले कांग्रेस सर्तसहित सरकारमा नजाने बताए । उनले भने “कांग्रेस सरकारमा जान्छ । तर हातखुट्टा बाँधेर सरकारमा जाँदैन ।”
बिना सर्त लोकतान्त्रिक विकल्पमा दलहरु आउने भएमात्र कांग्रेसले सरकारको नेतृत्व गर्ने बताए । उनले थपे “कांग्रेसले सेवा सर्त पूरा गरेर सरकारको नेतृत्वमा जाँदैन ।” अहिलेको समयमा कांग्रेस आफँै जुटेर बलियो बन्नुपर्ने उनको भनाई थियो ।सो अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्रीहरु एनपी साउत, शंकर भण्डारी, देवेन्द्र कँडेलले कांग्रेसलाई जनताले दिएको जिम्मेवारी पूरा गर्दै अघि बढ्नुपर्ने बताए ।अहिले देश संकटमा जान लागेको भन्दै उनीहरुले देशलाई सही बाटोमा हिडाउने कर्तव्य पनि कांग्रेसको रहेको बताए ।
