चेपाङको घरमा अनिकालको बास
इच्छाकामना । हरेक वर्ष अनिकाल सहनु चेपाङको बाध्यता हो । चितवनको ग्रामीण पहाडी भेगमा बसोबास गर्दै आएका चेपाङ समुदायको लागि विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि फेरि अनिकाल सुरू भएको छ ।
सुख्खा मौसम, उराठ लाग्दो दिन । घरमा अन्नको गेडो नहुँदा सदाका वर्षहरुमा जस्तै यसपालि पनि जंगल र भीरपाखा चहारेर कन्दमूल खोज्नुको विकल्प छैन । निर्धा व्यक्ति भएको परिवारमा ज्यलादारी गरेर दुई छाक जोहो गर्ने माध्यम भए पनि वृद्धवृद्धा र महिला, बालबालिका मात्रै भएको घरमा ठूलो समस्या छ ।
‘खोरिया बारीमा मकै र कोदोबाहेक अरु अन्न फल्दैन, दुःखजिलो गरेरै भए पनि कोदो मकै फलाइन्छ । तर ती अन्नले चार महिनाभन्दा खाना पुग्दैन,’ इच्छाकामना गाउँपालिका वडा नं. १ गारघरेकी आइतमाया चेपाङ भन्छिन्, ‘बारीको अन्नले चार महिनामात्रै पुग्ने भएपछि बाँकी आठ महिना त जंगलकै भर हो ।’ कसैले ल्याइदिएको दिन पेटभरी खाएर आनन्दको सास फेर्छन् उनी ।
घरभरी बालबच्चा छन् । टाढाटाढाको ज्यालादारी गर्न जाने समय नै हुँदैन उनीसँग । त्यसैले उनी यतिबेला फुर्सदमै छन् । गाउँघरमा रोजगारको सुविधा पनि नहुने हुँदा खाली हात बस्नुपरेको उनी बताउँछिन् । काममा हिँड्ने श्रीमान् मात्रै हुन् । ‘श्रीमानले कमाएर ल्याएको दिन पेटमा अलिकति अन्न पर्छ अरु दिन त त्यस्तै हो,’ उनी भन्छिन्, ‘जसरी हुन्छ दिन धकेल्ने बाटोमात्रै ।’