वर्षदिन नाघिसक्यो न्युन गुणस्तरको तेलबारे भएन फैसला


भरतपुर । मानिसको स्वास्थ्यमा गम्भीर असर पार्ने न्यून गुणस्तरको तेलको मुद्दाबारे चितवन जिल्ला अदालतले वर्षदिन नाघिसक्दा पनि फैसला गर्न सकेको छैन । अदालतमा दर्ता भएको खाद्यसम्बन्धी पहिलो मुद्दा नै किनारा लाग्न ढिलाइ भएको हो ।



खैरहनी नगरपालिका–६ स्थित ओमकार आयल इण्डष्ट्रिको उत्पादन त्रिवेणी ब्रान्डको तोरीको तेलमा अखाद्य रङ मिसाइएको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुरले ०७६ पुस २२ गते अदालतमा मुद्दा दर्ता गरेको थियो । अदालतले प्रतिवादीलाई तीन लाख रूपैयाँ धरौटी लिएर छाडे पनि मुद्दाको फैसला भने भइसकेको छैन ।




मुद्दाको जाहेरवाला र सार्वजनिक विश्लेषकहरु बकपत्रका लागि नआउँदा छिटो फैसला हुन नपाएको चितवन जिल्ला अदालतका शाखा अधिकृत नवराज शिंखडाले बताए । ‘जाहेरवाला र सार्वजनिक विश्लेषकको बकपत्र हुन सकेको छैन’, उनले भने, ‘दुई÷तीनपटक नै बोलाइसकिएको रहेछ, तर आउनुभएको छैन । बकपत्रका लागि उनीहरुलाई अब चैत १३ गते बोलाइएको छ ।’

न्यून गुणस्तरको तेलको मुद्दा न्यायाधीश केशवप्रसाद अधिकारीले हेरिरहेका छन् । अहिलेसम्म मुद्दाको चारवटा पेशी तोकिसकेको छ । अन्तिमपटक चैत २ गते साक्षी बुझ्ने आदेश भएको थियो । सम्भवतः अबको पेशीमा फैसला हुन सक्ने अपेक्षा गरिएको छ ।कोरोना महामारीमा लकडाउन हुँदा करिब ७ महिना अदालतका कामहरु पनि प्रभावित भएको उनले बताए । मुद्दाको प्रकृतिअनुसार भने फैसला हुन ढिलाइ नभएको उनको भनाइ छ ।



सम्बन्धित
Loading...