मःम पसलमा सिलिण्डर विष्फोटः ६ जना घाइते
भक्तपुर स्थित मःम पसलमा ग्याँस सिलिण्डर पड्किएको छ । खाजा बनाउने बेला ग्याँस सिलिण्डर पड्किएर आगलागी भएको छ । आइतबार साँझ सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरस्थित भीमेश्वर मःम एण्ड चिकेन हाउसमा आगलागी हुँदा सञ्चालकसहित ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
आगलागीमा पसल सञ्चालक दोलखा सैलुङ गाउँपालिका–६ घर भई सूर्यविनायक–४ दधिकोट बस्ने ३९ वर्षीय टीकाराम बस्नेत, उनका नातेदार काठमाण्डौ कोटेश्वर बस्ने ३३ वर्षीय राजेन्द्र कार्की र ३९ वर्षीया गीता कार्की घाइते भएका छन्।
उनीहरु कीर्तिपुर बर्न सेन्टर अस्पतालमा उपचाररत छन् । यस्तै, आगलागीमा ३ जना ग्राहक पनि घाइते भएका छन् । झापा विश्वशान्ति गाउँपालिका–२ घर भई भक्तपुरको सल्लाघारी बस्ने १९ वर्षीय आदित्य सुवेदी, भक्तपुर सुर्यविनायक( ५ कटुन्जे बस्ने वर्ष १७ वर्षीय विकास पौडेल र सोही ठाउँ बस्ने १६ वर्षीय हिमुन्स थापा घाइते भएका हुन् ।
