अधिकारीलाई पत्रकार महासंघको चुनावमा अध्यक्षको उमेदवार घोषणा
भरतपुर । नेपाल प्रेस युनियन चितवनले आसन्न पत्रकार महासंघको चुनावका लागि उमेदवार घोषणा गरेको छ । आइतबार बसेको प्रेस युनियन चितवनको भेलाले प्रेस युनियन चितवनका निवर्तमान अध्यक्ष नारायणप्रसाद अधिकारीलाई महासंघ चितवनको अध्यक्षको उमेदवार बनाउने औपचारिक निर्णय गरेको हो ।
अधिकारी महासंघ चितवन शाखाको वर्तमान उपाध्यक्षसमेत हुन् । महासंघ चितवनकका वर्तमान अध्यक्षसँगै अग्रमोर्चामा रहेर पत्रकारको दुर्घटना बिमा, अक्षयकोष निर्माण, क्षमता विकास तालिमलगायतका काम गरेर चितवनका पत्रकारको मन जितिसकेका छन् ।
दुई दशकदेखि राष्ट्रिय समाचार समिति चितवन प्रमुख रहेका अधिकारी चितवनको पत्रकारितामा लोकप्रिय व्यक्तिका रुपमा चिनिन्छन् । भरतपुर-११ निवासी अधिकारीले केही सञ्चार माध्यममा सफल व्यवस्थापकीय जिम्मेवारी पूरा गरिसककेका छन् । उनी हाम्रो एफएमको स्टेसन म्यानेजर, कायाकैरन दैनिकको संस्थापक प्रधान सम्पादक भएर काम गरिसकेका छन् ।
प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालले सक्षम नेतृत्वका रुपमा अधिकारीलाई साझा उमेदवार घोषणा गरिएको बताए । पत्रकार महासंघका केन्द्रीय सदस्य सिर्जना अर्यालले पत्रकार हकहितमा दुई दशक बढी सक्रिय अधिकारीले चितवनका सबै पत्रकारलाई ऐक्यबद्ध बनाउन सक्ने बताए ।
युनियनका केन्द्रीय सदस्य बसन्त पराजुलीले चितवनको महासंघको नयाँ नेतृत्वमा नारायण अधिकारीलाई जिताउन आह्वान् गरे । चितवनका अग्रज पत्रकार गणशेखर शर्माले नेतृत्वमा निखारिएका अधिकारीको जीत सुनिश्चित रहेको बर्ताए ।