देवचुली नगरपालिकाको अधिकांश गाउँमा शुद्ध खानेपानी


कृशला सापकोटा –




नवलपरासी, १० चैत्र । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको अधिकांश गाउँमा शुद्ध पिउने पानी पुगेको छ ।
स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकारको विभिन्न योजनाबाट खानेपानी पुगेको हो । कुनै बेला चुवाडी र कुवाको पानी खान बाध्य भएका देवचुली नगरपालिकाका पहाडी तथा विकट गाउँमा पनि अहिले धाराबाट घरघरमा शुद्ध पिउने पानी पुगेको छ ।

पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा ४० हजार बढी जनसंख्या छ भने १० हजार बढी घरधुरी रहेको छ । यहाँ अहिले अधिकांश घरमा घरघरमा धाराबाट शुद्ध पिउने पानी पुगेको छ । देवचुली नगरपालिकाको प्रगतिनगर, रजहर, दलदले जस्ता मुख्य बजारमा मात्र नभएर कृतिपुर, मुण्डे, बन्दीपुर जस्ता विकट गाउँमा पनि शुद्ध पिउने पानी पुगेको हो ।




यहाँ दिव्यपुरी खानेपाी आयोजना, रहजर खानेपानी आयोजना, आँपचौर खानेपानी आयोजना, बरडाँडी खानेपानी आयोजना, देवचुली खानेपानी आयोजना, कुमसोद खानेपानी आयोजना, बन्दीपुर खानेपानी आयोजना, प्रगतिनगर खानेपानी आयोजना लगायतका आयोजनाहरु सञ्चालनमा रहेका छन् ।

विगत २०/२५ बर्ष अघिदेखि सञ्चालनमा रहेका खानेपानी आयोजना भए पनि अहिले नगरपालिकाको पहलमा सबै खानेपानी आयोजनाहरु मर्मम तथा गुणस्तर सहितको खानेपानी आयोजनाका लागि नगरपालिकाले ठूला योजनालाई प्राथमिकता दिएर काम गरिरहेको देवचुली नगरपालिकाका नगर उपप्रमुख पार्वता तिवारीले बताइन् ।

देवचुली नगरपालिका भित्र रहेको खानेपानी आयोजना मध्येको ठूलो आयोजना प्रगतिनगर खानेपानी आयोजना हो । यसले देवचुली नगरपालिकाका ८ वटा वडाका ४५ सय बढी घरधुरीलाई पानी पुर्याएको छ । त्यो पनि २४ सैं घण्टा शुद्ध पिउने पानी उपलब्ध गराएको प्रगतिनगर खानेपानी आयोजना तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसालले बताए ।

अहिले देवचुली नगरपालिकाका पहाडी तथा विकट क्षेत्र कृतिपुर लगायतका केही क्षेत्रमा सामुहिक धाराबाट खानेपानी उपलब्ध भईरहेको भए पनि त्यो समस्या पनि १ बर्ष भित्र अन्त्य भएर अबको एक बर्षमा बाँकी रहेको सबै क्षेत्रमा एक घर एक धारा पुर्याउने देवचुली नगरपालिकाको योजना रहेको छ ।

नेपालकै पहिलो खुल्ला दिशामुक्त क्षेत्र देवचुली नगरपालिका अहिले अन्य पूर्वाधारको क्षेत्रमा पनि विस्तारै फड्को मार्दै छ । जसको सूचीमा खानेपानी आयोजनामा पनि पर्दछ ।

कुनै बेला विहान ४ बजे उठेर डोकोमा गाग्री बोकेर पानी लिन पधेरो, कुवा, मुहान धाउनु पर्ने बाध्यता अहिले यहाँ अन्त्य भएको छ ।

https://www.youtube.com/watch?v=AGp0ALmCp1o&t=677s



सम्बन्धित
Loading...