देशभरका ७५ प्रतिशत क्षेत्रमा इन्टरनेट जडान


देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पु¥याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजनाअन्तर्गत गत फागुन मसान्तसम्म ७५ प्रतिशत क्षेत्रमा जडान सम्पन्न भएको छ । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउनेसम्बन्धी परियोजनालाई १८ प्याकेज बनाएर सञ्चालन गरेको छ । उक्त प्याजेकअन्तर्गत फागुन मसान्तसम्ममा ७४ दशमलव ८९ प्रतिशत स्थानमा उच्च गतिको इन्टरनेट जडान सम्पन्न भएको प्राधिकरणले जनाएको हो ।



तेह्र प्याकेजअन्तर्गत ५० जिल्लामा तोकिएबमोजिम स्थानमा जडान सम्पन्न भएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार १८ प्याकेजका १५ हजार ९८२ स्थानमध्ये हालसम्म ११ हजार ९६९ स्थानमा इन्टरनेट जडान सम्पन्न भएको छ । यसैगरी, प्राधिकरणको तथ्याङ्कअनुसार चार हजार ७६९ स्थानमा इन्टरनेट जडानको कार्य बाँकी छ ।




प्राधिकरणको तथ्याङ्कअनुसार ७०२ स्थानीय निकायमध्ये ५५० स्थानमा इन्टरनेट जडान सम्पन्न भएको र १५२ स्थानीय तहमा जडानको कार्य भइरहेको छ । यसैगरी, पाँच हजार ९३३ वडा कार्यालयमध्ये हालसम्म चार हजार ४७४, पाँच हजार २२५ माविमध्ये हालसम्म तीन हजार ७९२ र चार हजार १२२ स्वास्थ्य संस्थामध्ये हालसम्म तीन हजार १५३ स्थानमा इन्टरनेट जडान सम्पन्न भएको छ ।

प्राधिकरणको तथ्याङ्कअनुसार दुई प्याकेजअन्तर्गत १० जिल्लामा ५० प्रतिशतभन्दा बढी कार्य सम्पन्न भई सेवा सञ्चालनमा छ । तीन प्याकेजअन्तर्गतका १४ जिल्लाका तोकिएबमोजिम जिल्लामा नेटवर्क तथा कनेक्टिभिटी जडानका लागि सेवा प्रदायकहरु छनोट भई निर्माण भइरहेको प्रवक्ता अर्यालले जानकारी दिए ।



सम्बन्धित
Loading...