दासढुङ्गामा ट्रक र कार ठोक्किँदा दुईको मृत्यु, तीन जना घाइते




नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ना ६ ख ७३७१ नम्बरको आइचर ट्रक र विपरीत दिशाबाट आइरहेको बा २१ च ६८५९ नम्बरको कार ठक्कर खाँदा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका डिसपी प्रवक्ता सूर्यबहादुर थापाले दिएको जानकारीअनुसार सो दुर्घटनामा कारमा सवार चालकसहित पाँच जना घाइते भई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरतर्फ ल्याउँदै गर्दा दुई जनाको बाटोमा नै मृत्यु भएको हो ।

मृत्यु हुनेमा तनहुँको स्याम्घा नगरपालिका ४ का २८ वर्षीय धर्मराज गौली र कास्कीको लेखनाथ नगरपालिकाका ३१ वर्षीय रामकृष्ण भुजेल रहेका छन् ।

दुर्घटनामा कार चालक लमजुङको मध्यनेपाल नगरपालिका ७ निवासी ४२ वर्षीय पदम सापकोटा र स्याङ्जाको बिरुवा गाउँपालिका ३ का ४२ वर्षीय प्रसाद थापाको अवस्था गम्भीर रहेको छ भने तनहुँको व्यास नगरपालिका ६ का ४० वर्षीय जसमान परियारको अवस्था मध्यम रहेको छ ।

घाइते तीनै जनाको पुरानो मेडिकल कलेज (सिएमएस) भरतपुरमा उपचार भइरहेको प्रवक्ता थापाले बताए । दुवै सवारी साधन र ट्रक चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...