तरकारीमा विषादी बढेपछि किसानलाई सचेत गराइँदै
चितवनमा उत्पादन हुने तरकारीमा अत्यधिक विषादी प्रयोग भएपछि किसानलाई सचेत बनाउन थालिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति काठमाडौँ र भरतपुर महानगर फलफूल तथा तरकारी थोक बजारमा गरिएको परीक्षणमा अत्यधिक विषादी भेटिएपछि किसानलाई सचेत बनाउन थालिएको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आयोजनामा बुधबार र बिहीबार पूर्वी चितवनको राप्ती र भरतपुर महानगरपालिका–२५ का किसानसँग अन्तक्र्रिया गरिएको थियो ।चितवनका किसानले उत्पादन गरेको तरकारी काठमाडौँको कालीमाटीमा विषादी परीक्षण गर्दा अत्यधिक विषादीको मात्रा भेटिएपछि जनचेतनामूलक कार्यक्रम गरिएको कार्यकारी निर्देशक विनोदकुमार भट्टराईले जानकारी दिए ।
कालीमाटीमा गरिएको परीक्षणमा चितवनबाट पछिल्लो समय अत्यधिक विषादीको मात्रा भएका तरकारी उत्पादन भएको भेटिएको उनले बताए । “जिल्लामा पालिका र कृषि ज्ञान केन्द्रमार्फत पनि कार्यक्रम भइरहेका छन्, हामी पनि यसबारे किसानलाई जानकारी प्रदान गर्न किसानको खेतबारीमा पुगेका छौँ”, उनले भने । कालीमाटीमा बढी तरकारी जाने जिल्लामा चितवन पर्छ ।
“यहाँबाट उत्पादन भएको तरकारी नष्ट गर्नुपर्दा किसानलाई नोक्सान हुने गरेको छ, नगर्दा उपभोक्ताले विषादी खाने अवस्था छ”, उनले भने । उनले किसानले उत्पादन गरेका वस्तुको बजारीकरणका लागि छुट्टै स्टलको व्यवस्था गरेको जानकारी दिए ।
कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले यो सिजनमा उत्पादन हुने तरकारीमा विषादीको प्रयोग डरलाग्दो अवस्थामा रहेको बताए । “सबैले उपभोक्ताको स्वास्थ्यमा ध्यान दिनुपर्छ”, उनले भने, “विषादी हालेर पर्खनुपर्ने समयावधि नपुगी बजारमा लैजाँदा विषादीका अवशेषहरु भेटिने गरेका छन् ।”
भरतपुर–२५ अमृतनगरका युवा कृषक लेखनाथ भुसालले विषादी प्रयोग किसानको बाध्यता भएको बताए । “अधिकांश किसान साक्षर छैनन्”, उनले भने, “सबै कुरामा एग्रोभेटको विश्वास गर्ने परिपाटी छ ।” उनले यो समस्या सामाधन किसानले मात्रै गर्न नसक्ने बताए ।
