एक्लिदै डा. केसी; कांग्रेसको माग सम्बोधन


१५ माघ । डा. केसीको मागको समर्थन गर्दै आन्दोलन गरेको नेपाली काँग्रेसको माग पुरा भएपछि डा. केसी एक्लिने सम्भावना बढेको छ ।
सरकारले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको माग सम्बोधन गर्दै थप दुई अस्पताल केन्द्र मातहत राख्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले तनहुँको गिरिजाप्रसाद कोइराला स्वासप्रश्वास केन्द्र र बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई केन्द्र सरकार मातहत राख्ने निर्णय गरेको हो ।
यस अघि संघीय सभा र राष्ट्रिय सभामा चिकित्सा शिक्षा विधेयक पारित हुन नदिन जोडबल गरेको काँग्रेसको माग सोमबारको वैठकले सम्बोद्धन गरेको छ ।
सरकारको निर्णयबारे जानकारी दिँदै सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले कांग्रेसको माग पूरा भएको र गिरिजाप्रसाद कोइराला र सुशील कोइराला कांग्रेसका मात्रै नभई सबैको नेता भएको बताए ।
मन्त्रिपरिषदको निर्णयबारे संसदलाई माघ १७ गते जानकारी गराउने सरकारको तयारी छ ।
यसअघि ९ अस्पताललाई केन्द्र सरकार मातहतमा राखे पनि आफ्ना नेताको नामका दुई वटा अस्पतालबारे निर्णय नगरेर खारेजी प्रक्रियामा लगेको भन्दै कांग्रेसले लगातार संसद अवरोध गर्दै आएको थियो ।
कांग्रेसको विरोधका बीच सरकारले चिकित्सा शिक्षा विधेयक पारित गरेको थियो ।



कांग्रेसले तनहुँको जीपी कोइराला राष्ट्रिय श्‍वासप्रश्वास केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई केन्द्र सरकार भन्दा बाहिर राख्ने सरकारको निर्णय सच्याउन माग गर्दै संघीय संसद् आएको थियो।कांग्रेसले सरकार आफ्ना नेताको योगदानको अवमूल्यन गरेको र सहमतीय सरकार भएको बेला सञ्चालन अनुमति दिएको अस्पताललाई विघटन गर्न लागेको आरोप लगाइएको थियो।

कांग्रेसले भने सरकारको औपचारिक निर्णय नआइसकेकोले सदनको अवरोध के गर्ने भन्ने यकिन गरिनसकेको बताएको छ। कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले भने, ‘हाम्रो माग पूरा भएको भन्ने सुन्नमा मात्रै आएको छ। सरकारले साँच्चै यो निर्णय गरेको हो भने संसदको अवरोध खोल्ने कि नखोल्ने पार्टीमा छलफल हुन्छ।’




तर, राष्ट्रिय सभा संसदीय दलका नेता सुरेन्द्र पाण्डेले भने निर्णय भएको भए संसद् अवरोध खुल्ने बताए।


सम्बन्धित
Loading...