महानगरका विद्यालयमा लैङ्गिक शिक्षक अनिवार्य : हिंसा न्यूनीकरण हुने विश्वास
भरतपुर महानगरपालिकाका हरेक संस्थागत तथा सामुदायिक विद्यालयमा लैङ्गिक शिक्षक अनिवार्य गरिएको छ । भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखाले हरेक विद्यालयमा पत्राचार गरेर लैङ्गिकमैत्री वातावरणका लागि लैङ्गिक शिक्षक राख्न निर्देशन गरेको छ ।
‘भरतपुर महानगरभित्र रहेका हरेक संस्थागत तथा सामुदायिक विद्यालयमा पत्राचार गरेर लैङ्गिक शिक्षक राख्न गत कार्तिकमै निर्देशन गरेका हौँ’, शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले भने, ‘विद्यालयमा हुने हरेक किसिमका हिंसात्मक घटनाहरुलाई नियन्त्रण गर्नका लागि लैङ्गिक शिक्षक राख्न भनेका हौँ ।’
उनका अनुसार प्रायः सबै विद्यालयले लैङ्गिक शिक्षक राखिसकेका छन् । केही विद्यालयले लैङ्गिक शिक्षक नराखे पनि पुनः पत्राचार गरेर ध्यानाकर्षण गराउने उनको भनाइ छ ।
भरतपुर–६ मा रहेको अरूणोदय मावि गीतानगरका प्रधानाध्यापक रत्नप्रसाद सापकोटाले अरूणोदयले लैङ्गिक शिक्षक राखिसकेको बताए । उनका अनुसार अरूणोदयको लैङ्गिक शिक्षक बिन्दु अधिकारी हुन् । प्रधानाध्यापक सापकोटाले भने, ‘छात्रामाथि हुने अनेकौँ किसिमका हिंसाहरु न्यूनीकरणका लागि लैङ्गिक शिक्षक आवश्यक छ ।’
प्रधानाध्यापक सापकोटाले छात्रामाथि हुने दुव्र्यवहार तथा हिंसाहरुको गुनासो आउनासाथ लैङ्गिक शिक्षकबाट समाधान भइरहेको बताए । उनले भने, ‘छात्राहरुलाई जिस्काउने, छात्र र छात्राको नाम जोडेर बोलाउने, कुदृष्टि लगाउने, खराब नियत राख्नेजस्ता गुनासो आए पनि लैङ्गिक शिक्षकबाट समाधान भइरहेको छ ।’ उनले महानगरले ल्याएको लैङ्गिक शिक्षक कार्यक्रम अत्यन्तै प्रभावकारी भएको बताए ।
