कावासोतीमा रोकियो २२० केभी प्रशारण लाइनको काम




नवलपरासी । राष्ट्रिय परियोजनाको हेटौडा–भरतपुर–बर्दघाट २२० केभी विद्युत प्रशारण लाइनको काम रोकिएको छ ।

पूवी नवलपरासीको कावासोती १ कोइलापानीमा प्रशारण लाइन विस्तारको क्रममा विद्युत लाइन तार मुनि पर्ने निजी जग्गा, घर र सोही स्थानमा रहेको गुम्बाको मुआब्जा यकिन नभएको र मुआब्जा दिने तिथि पनि यकिन भएको भन्दै स्थानीयले काम राकिदिएका हुन् ।




यहाँ ४÷५ घर स्थानीय बासिन्दाको जग्गा र सेन्चेन छोइलिङ गुम्बा अहिले विस्तार गर्दै गरेको राष्ट्रिय प्रशारण लाइनको विद्युत प्रभाव क्षेत्र भित्र पर्ने भएको र मुआब्जाको विषयमा सम्बन्धित निकायले चासो नदिएको भन्दै उनीहरुले पछिल्लो ४ दिन यता काम रोकेका छन् ।

गुम्बा ब्यवस्थापन समिति र स्थानीयसंग कुनै पनि परामर्श नलिएर तार बिछ्याउने कार्य अघि बढाएको भन्दै स्थानीयहरुले अबरोध गरेपछि विवाद बढ्दै जाँदा काम रोकिएको स्थानीय बासिन्दा तथा गुम्बा ब्यवस्थापन समितिका सचिब राम बहादुर ब्लोनले बताए ।

आयोजनाका दुई जना इन्जिनियरहरुले परस्पर बाझिने खालका लिखत प्रदान गरेको ब्लोनले बताए । इन्जिनियर उमेश मिश्रले प्रसारण लाइन तारको ११ मिटर भित्र गुम्बाको संरचना परेको नक्सा ब्यवस्थापन समितिलाई दिएका छन भने अर्का इन्जिनियर राजेन्द्रप्रसाद पौडेलले भने प्रसारण लाइनभित्र गुम्बाको संरचना नपर्ने आशयको पत्र गुम्बा ब्यवस्थापन समितिलाई पठाएका छन ।

तीन दिन अघिदेखि अबरोध भएको तार बिछ्याउने काम आयोजना र गुम्बा ब्यवस्थापन समिती बिच सहमति भएपछि मात्र अघि बढ्न दिने समितिका सचिब राम बहादुर ब्लोनले बताए ।

जिल्ला प्रशासन कार्यालय पुर्बी नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाले भने दुबै पक्ष बीच छलफल गराई अघि बढ्ने बताएका छन ।

यस अघि पनि देवचुली नगरपालिकाको ७ र ८ मा यस्तै विवाद हुँदा स्थानीयसँग छलफल गरी मुआब्जा प्रदान गरेपछि मात्र काम अगाडि बढेको थियो ।



सम्बन्धित
Loading...