प्रतिनिधिसभा बैठकमा शोक प्रस्ताव पारित
प्रतिनिधिसभाको आजको बैठकले संविधानसभा सदस्यद्वय नवीन्द्रराज जोशी र लक्ष्मीदेवी भण्डारीको निधनमा शोक प्रस्ताव पारित गरेको छ।
सभामुख अग्निप्रसाद सापकोटाले पूर्व उद्योगमन्त्री समेत रहेका जोशी र कांग्रेस नेत्री भण्डारीको निधनमा प्रस्तुत गर्नुभएको शोक प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो । बैठकमा जोशी र भण्डारीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो । बैठकले जोशीको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।
निष्ठावान्, इमान्दार, जुझारु र जनसेवामा समर्पित नेता एवम् लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका जोशीको ५९ वर्षको उमेरमा यही चैत १३ गते थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनी विसं २०६४/२०७० को संविधानसभा सदस्यमा काँग्रेसका तर्फबाट काठमाडौँ क्षेत्र नं ८ बाट निर्वाचित सदस्य रहेका थिए ।