नवलपुरमा जनगणनाका लागि गणकः माग भन्दा ६ गुणा बढी आवेदन
कावासोती । पूर्वी नवलपरासीमा राष्ट्रिय जनगणनाका लागि आवश्यक पर्ने गणक र सुपरीवेक्षकमा माग गरिएभन्दा ६ गुणा बढी आवेदन परेको छ ।
वैशाख २६ गतेबाट हुने १२ औं राष्ट्रिय जनगणनाका लागि पूर्वी नवलपरासीमा १ सय ४ जना सुपरीवेक्षक र ४ सय ६२ जना गणक आवश्यक पर्नेमा दुवैमा गरी ३ हजार २ सय ६५ जनाको आवेदन परेको छ । पूर्वी नवलपरासीका जिल्ला जनगणना अधिकारी जितेन्द्र रानाभाटले जानकारी दिए ।
त्यस्तै आवेदन दिनेमा पुरुषको तुलनामा महिलाको संख्या दोब्बर रहेको छ ।
जिल्लामा ४ सय ६२ गणक माग गरिएकोमा १ हजार ६ सय ४७ महिला र ७ सय ५५ पुरुष गरी २ हजार ४ सय २ जनाले आवेदन दिएका छन् । त्यस्तै १ सय ४ सुपरिवेक्षक माग गरिएकोमा १ सय २९ महिला र १ सय ५२ पुरुष गरी २८१ जनाले आवेदन दिएका रानाभाटले बताए ।
