सुक्न थाले पानीका मुहान, सिचाई र पिउने पानीको अभाव बढ्दै
कृशला सापकोटा- नवलपरासी, २२ चैत्र ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा पानीको मुहान सुक्दै जान थालेपछि पिउने पानी र सिचाईमा समेत अभाव हुन थालेका छन् ।
पूर्वी नवलपरासीकै अग्लो पहाड देवचुली डाँडाको फेदी यहाँको पानीको मुल स्रोत हो । तर डाँडाको हरियाली विस्तारै रितिदै गएपछि पछिल्लो २५/२७ बर्ष यता पानीको मुहान सुक्दै जाने क्रम बढेको छ ।
२०५२ सालसम्म पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको हरेक वडामा सिचाईको प्रशस्त सुविधा थियो । भर्खरभर्खर जडान गरिएका गाउँघरका धारामा २४ सैं घण्टा पिउने पानी उपलब्ध हुन्थ्यो ।
तर विस्तारै देवचुली नगरपालिकाको मुख्य पानीको स्रोत रहेको मुहानको डाँडा देवचुली डाँडाको हरियाली घट्न थालेपछि पानीको मुहान सुक्दै जाने थाले । यति मात्र होइन, यहाँ बढ्दो सहरीकरणलाई धान्न ठाउँठाउँमा लगाइएको ठूला ठूला बोरिङ्ग, जग्गामा आएको खण्डीकरणले पनि पानीको मुहान सुक्न थालेको देवचुली नगरपालिका ०७ का वडा अध्यक्ष भुपराज पाठकले बताए ।
देवचुली नगरपालिकाको देउसत खोलाको पानीबाट देवचुली नगरपालिकाको प्रगतिनगर खानेपानी, धाराडी खानेपानी, देवचुली खानेपानी, रानीबेल खानेपानी, जनवस्ती खानेपानी आयोजनामा पानी ल्याइने गरिएको छ ।
त्यसैगरी टोक्रे नहर, कृतिपुर नहर, सिताबास नहर, देउसत नहर, गैडी नहर, जनबस्ती नहर, मृतुङ्ग नहरबाट गरी देवचुली नगरपालिकाको ६० प्रतिशत भूमि अर्थात १० हजार बढी विगाहा जमिन देउसत खोलाबाटै सिंचित हुने गर्दछ ।
पछिल्लो समय पानीको ठूलो मुहान देउसत खोलाको मुहान मात्रै सुक्दै जान थालेको नभई यहाँका स–साना ४/५ वटा पानीको मुहान सुकिसकेको यहाँका बासिन्दाहरु बताउँदछन् । पानीको मुहान सुक्दै गएपछि पिउने पानीको लागि टंकीमा पानी लगे सिचाई गर्न अभाव हुने र सिचाई गरे पिउने पानीको अभाव हुने गरेको स्थानीय बासिन्दा विरबहादुर गुरुङले बताए ।
देवचुली नगरपालिकाले अहिले प्रत्येकको घरघरमा शुद्ध पिउने पानी पुराइ रहँदा देवचुली नगरपालिकाको मुख्य पानीको स्रोत मुहान नै सुक्दै जाने थालेपछि यहाँका बासिन्दालाई केही बर्ष भित्रै सिचाईको लागि मात्र नभएर पिउने पानीको समेत अभाव हुने निश्चित छ ।
नगरपालिकाले एक्लैले मात्र नभएर संघीय सरकार र प्रदेश सरकारसँग समेत मिलेर पानीको मुहान संरक्षणका लागि विशेष योजना ल्याउने तयारीमा नगरपालिका रहेको देवचुली ७ का वडाध्यक्ष पाठकले बताए ।
देवचुली नगरपालिकाको प्रगतिनगर खानेपानी सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसालले पनि नदीको र जमिन मुनिको पानी दुवैको सहत घट्दै गएको बताउँदछन् ।
उनले अघिल्लो बर्ष आफूहरुले गरेको परीक्षणको क्रममा पनि त्यो पाएको र चैत्र, बैशाखको समयमा गत १५ बर्षको तुलनामा पानीको सतह निक्कै घटेकोले मुहानको पानी मात्र नभएर अन्य विकल्पको खोजी गरेर पिउने पानी उपलब्ध गराउने गरेको बताए । पानीको सतह घट्दै जानु र बढ्दो सहरीकरणले जनसंख्याको चाप बढ्दै जाँदा मुहानको पानीले नपुगेर जमिन मुनीको पानीको स्रोत प्रयोग गरिएको र अहिले त्यो पनि विस्तारै घट्दै गएको उनले बताए ।
भुसालका अनुसार देवचुली नगरपालिकामा अहिले सामुदायिक वन, नगरपालिकासँग सहकार्य गरेर नाङ्गा डाँडाहरुमा वृक्षारोपण गर्ने, ठाउँठाउँमा डिल तथा पोखरीहरु गराउने काम थालिएको छ ।
एकातिर हरिया डाँडाहरु नाङ्गै हुँदै जानु र अर्कोतिर वनमा डढेलो लाग्दा जमिनको माथिल्लो सतहको माटो पाक्न गई त्यो माटोले आकाशबाट परेको पानी सोसेर जमिन मुनी पुर्याउन नसक्दा पनि जमिन मुनिको पानीको सतह घट्दै गएको डिभिजन वन कार्यालय नवलपुरका डिभिजनल वन अधिकृत मोहनराज काफ्लेले बताए ।
पानीको मुहान सुक्दै जाने समस्या देवचुली नगरपालिकामा मात्रै होइन । जताततै छ । खास गरेर बढ्दो प्रदुर्षणका कारण भएको जलवायु परिवर्तन र त्यसका कारण तात्दै गएको पृथ्वी नै मुख्य हो । त्यसका लागि सबै लाग्नु आवश्यक छ ।
विगतको १५ बर्ष भन्दा एक दम कम बोरिङ्गको मापन पानीको चाप घटेको मुल महानको पानी मात्र वितरण हुन्थयो भने अहिले पानीको स्रोत घट्नु, जनसंख्याको चाप बढ्नुले भूमिगत र सतह दुवै घटेको छ ।
