नवलपुरको झण्डै १० प्रतिशत वन डढेलोले खायो
नियन्त्रणको प्रयास असफल
नवलपरासी । पूर्वी नवलपरासीमा पछिल्लो १० दिन यताको डढेलोले झण्डै १० प्रतिशत वन सखाप भएको छ ।
डिभिजन वन कार्यालय नवलपुरको तथ्यांक अनुसार यहाँ रहेको झण्डै ७५/७६ हजार हेक्टर वन क्षेत्र मध्ये ५ हजार १ सय बढी हेक्टर वन डढेलोले खाइसकेको छ । यो करिब ५ दिन अगाडिको तथ्यांक हो ।
डिभिजन वन कार्यालय नवलपुरका प्रमुख मोहनराज काफ्लेका अनुसार नवलपुरमा एक्कै दिन ४५ स्थानसम्ममा डढेलो लागेको थियो । डढेलो लाग्ने क्रम पछिल्लो दुई दिन यता केही कमी भए पनि डढेलो लागेको वनको क्षेत्रफल भने मोटामोटी ७ देखि ८ हजार हेक्टर बढी पुगेको अनुमान नवलपुरमा छ ।
काफ्लेका अनुसार नवलपुरमा ९९ प्रतिशत डढेलो मानवीय कारणले लाग्ने गरेको तथ्यांकले देखाएको छ । त्यसो त यस बर्ष मौसम सुख्खा हुनु, बेलैमा जंगल सरसफाई गर्न नपाउनु आदि कारणले पनि जंगलमा यस बर्ष बढी डढेलो लागेको नवलपुरका डिभिजनल वन अधिकृत काफ्लेले बताए ।
नवलपुरका पहाडी क्षेत्रदेखि नारायणी नदीसँग जोडिएको निकुञ्ज आसपासको क्षेत्रमा पनि अहिले डढेलो लागेको छ ।
डढेलोकै कारण वातावरण प्रदुषित भए पनि नेपाल सरकारले ४ दिनका लागि शैक्षिक संस्था बन्द गरेको थियो ।
डढेलोको धुवाले फोक्सोमा समस्या भएका तथा दमका रोगीहरुलाई श्वासप्रश्वासमा समस्या हुने र केटाकेटी तथा जेष्ठनागरिक यसबाट बढी प्रभावित हुने स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।
त्यसैगरी धुवाको एलर्जीले आँखा पोल्ने, आँखा चिलाउने, रातो हुन जस्ता समस्याहरु आउन सक्ने उनले बताए ।
सरकारले डढेलो नियन्त्रणका लागि बर्षेनी अर्बौ रुपैयाँ खर्च गर्ने गरे पनि त्यसको प्रभावकारीता यस बर्ष खासै देखिएको छैन ।
जिल्लाका विभिन्न स्थानमा लागेको डढेको र वनका उपभोक्ता, सशस्त्र प्रहरीले नियन्त्रण र वनका कर्मचारीले प्रयास गरिरहेका छन् ।
मध्यविन्दु नगरपालिकाको चोरमारा र डन्डाबीचको पश्चिमतर्फको भागमा बढी क्षति र प्रभाव देखिएको उनको भनाइ छ ।
सञ्चार माध्यमबाट सूचना सम्प्रेषण गर्नुका साथै विभिन्न चेतनामूलक कार्यक्रम तथा गोष्ठी गरेको उनले बताए र पनि वनमा आगो देखिनु उपभोक्ताको चरम असन्तुष्टि रहेको हुन सक्ने आँकलन गरिएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरका अध्यक्ष ठाकुर पाण्डेका अनुसार समयमै दाउरा नखोल्दाका कारण उपभोक्तामा सामुदायिक वन प्रतिको माया घटेका कारण यस्तो भएको हो । तथापि सरकारले बेलैमा दाउरा खोल्दिएन भनेकै भरमा वनमा सरसफाई नगर्नु भने दुखद भएको उनले बताए ।
ठाकुर पाण्डेका अनुसार सरकारले यस बर्ष सचेतनाको कार्यक्रम कम गरेकै कारण पनि यस्तो भएको हो ।
