चितवन देशकै तेस्रो प्रदूषित जिल्ला
चितवनको वायु प्रदूषण सोमबार अत्यधिक बढेको छ । सोमबार चितवनको वायु प्रदूषण सूचकाङ्क (एक्युआई) ३७७ पुगेको वातावरण विभागले जनाएको छ । वायु प्रदूषण सूचकाङ्क (एयर क्वालिटी इन्डेक्स)का अनुसार चितवन जिल्ला धनगढी, सिमरापछिको तेस्रो धेरै प्रदूषित जिल्ला बनेको हो ।
वातावरण विभागका अनुसार चितवनको वायु प्रदूषण सोमबार खतराको तहमा पुगेको थियो । पछिल्लो दुई दिनमा प्रदूषण बिस्तारै घट्दै गएकोमा सोमबार एक्कासि प्रदूषण बढेको हो ।
सोमबार धनगढीको वायु प्रदूषण ४०४ एक्युआई पुगेको थियो । ३०१ देखि ४०० एक्युआईलाई खतराको तह मानिन्छ । यस किसिमको वायु सबै उमेर समूहका मानिसका लागि घातक हुने विभागले जनाएको छ ।
स्वास्थ्य कार्यालय चितवनले वातावरण प्रदूषण बढेको हुँदा सकभर घरबाहिर ननिस्कन आग्रह गरेको छ । धुलोधूवाँका कणसहित वनजंगलमा लागेको डढेलोको असर वातावरणमा परेको हुँदा दूषित वातावरणका कारण श्वासप्रश्वाससँगै आँखामा समस्या देखिन सक्ने स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीले बताए ।
‘प्रदूषणको जोखिम अझै कम नभएकोले सकभर घरबाहिर ननिस्कनुहोला,’ उनले भने, ‘यसले सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा प्रभावित हुन सक्छन् ।’ अझ दम र श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिलाई बढी जोखिम हुने भएकोले सजग रहन उनले आग्रह गरे । वातावरण प्रदूषणको दर उच्च भएपछि नेपाल सरकारले नै केही दिनअघि शैक्षिक संस्थाहरु बन्द गराएको थियो ।
हवाई उडान अवरूद्ध
वायु प्रदूषणकै कारण सोमबार भरतपुर विमानस्थलबाट हुने सबै हवाई उडानहरु अवरूद्ध भएका छन् । अत्यधिक वायु प्रदूषणका कारण पर्याप्त भिजिबिलिटी नहुँदा हवाई उडानहरु अवरूद्ध भएका हुन् । उडानका लागि कम्तीमा २५ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । सोमबार भरतपुरको भिजिबिलिटी १७ सय मिटरको आसपास कायम भएको भरतपुर विमानस्थलका सूचना अधिकारी अरूण आचार्यले बताए ।
आइतबार पनि वायु प्रदूषणका कारण दिउँसो १ बजेदेखि ४ बजेसम्ममात्रै हवाई उडान भएका थिए । वनजंगलमा लागेको डढेलोका कारण अत्यधिक वायु प्रदूषण बढ्दा मानिसको स्वास्थ्य जोखिममा परेको छ ।
विभागका अनुसार ३०० देखि ४०० एक्युआईलाई प्रदूषणको खतराको तह मानिन्छ । ० देखि ५० एक्युआईलाई स्वस्थ वायु मानिन्छ ।