डढेलो नियन्त्रणका हेलिकप्टर किन्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले आगलागी नियन्त्रणका लागि हवाईजहाज वा हेलिकप्टरको प्रयोगबारे गृहकार्य गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।
रक्षामन्त्रीको समेत जिम्मेवारी लिनुभएका प्रधानमन्त्री ओलीले उच्च वायु प्रदूषणको कारक बनेको जंगलको आगलागी नियन्त्रणमा दमकल मात्र पर्याप्त नहुने भएको हेलिकप्टरको प्रयोग आवश्यक हुने भने ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार सम्पन्न रक्षा मन्त्रालयको चौमासिक बजेट समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् ।
उहाँले विकट जंगलमा हुने आगलागी नियन्त्रण र अन्य प्रयोगमा पनि ल्याउन सकिने खालका बहुउपयोगी हेलिकप्टर वा हवाईजहाज ल्याउनुपर्ने बताए । देशभरका जंगलमा लागेको आगलागी नियन्त्रणका लागि अग्नी नियन्त्रक यन्त्र जडान गरी तत्काल प्रयोगमा ल्याउन सकिने भए सो कार्य प्रारम्भ गर्न समेत उहाँले निर्देशन दिए।
यसकार्यमा नेपाली सेनाले अग्रसरता लिनु उपयोगी हुने धारणा पनि उनको थियो । उनले देशभरका सात सय स्थानमा आगलागी भएको र त्यसबाट हुने वायु प्रदूषणले स्वास्थ्य समस्या देखिनेतर्फ सचेत गराए ।
उनले नेपाली सेनाले आफ्ना लागि चाहिने पोशाक, विस्कुट, खाद्य पदार्थ आँफै उत्पादन गर्ने कार्यको अग्रसरता लिनु सह्रानीय भएको धारणा व्यक्त गरे ।
उहाँले नेपाली सेना आँफैले उत्पादन गर्दा सबै सुरक्षा निकाय, सरकारी कार्यालयमा समेत प्रयोगमा ल्याउन सकिने चर्चा गर्नुहुँदै भने, “त्यसरी तयार हुने पोशाक सितै होइन, परल मूल्य लिएर गुणस्तरसमेत सुनिश्चित गराएर उपलब्ध गराइनुपर्छ ।”