वनमा लागेको डढेलो नियन्त्रण : वन
चितवनका वनहरुमा लागेको डढेलो नियन्त्रणमा आएको डिभिजन वन कार्यालय चितवनले जनाएको छ । यहाँका वनहरुमा लागेको डढेलो नियन्त्रणमा आइसकेको र अहिले कुनै पनि सामुदायिक, कबुलियती तथा अन्य वनहरुमा डढेलो नलागेको डिभिजन वनले दाबी गरेको छ ।
डिभिजन वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार चितवन जिल्लाको वनमा लागेको डढेलोबाट कुनै ठूलो क्षति भएको छैन । सूचना अधिकारी खनालले भने, ‘साना बिरूवा र केही जडीबुटीको क्षतिबाहेक अन्य ठूलो क्षति केही पनि भएको छैन ।’
डिभिजन वन कार्यालय चितवनले यहाँका ३७ सय ९० हेक्टर वनमा डढेलो लागेको र ठूलो क्षति नभएको जनाएको छ । खनालले भने, ‘डढेलो लागेको ठाउँमा पानी पर्नासाथ घाँसहरु उम्रन थाल्छन्, डढेलोले उजाड बनेका वनहरु फेरि हरियाली हुन थाल्छन् ।’
भरतपुर महानगर वडा नं–१, २, ११ र १२ मा रहेका वन क्षेत्रमा, इच्छाकामना गाउँपालिकाको ३, ४, ७ नं वडामा रहेका वनमा र कालिका नगरपालिकाको ७, ८, ९, १० र ११ नं वडाको वनमा यसवर्ष डढेलो लागेको थियो ।
वनका हेरालु, डिभिजन वनका कर्मचारी, सामुदायिक वनका पदाधिकारीलगायतको टोलीले डढेलो नियन्त्रणमा लिएको वनको भनाइ छ । बर्सेनि चितवनका सामुदायिक वनमा ४०० हेक्टरसम्म डढेलोको कारण क्षति पुगेको छ, तर हालसम्म मानवीय क्षति भएको छैन ।