जनमोर्चाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गुरुङ अल्पमतमा
पोखरा, १ वैशाख । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतिनिधिसभा विघटनमा प्रधानमन्त्री केपी ओलीको साथ दिएकाले समर्थन फिर्ता लिनुपरेको जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले स्पष्ट पारेका छन् ।
प्रतिगमनमा मुख्यमन्त्री गुरुङले प्रधानमन्त्री ओलीलाई सघाएको जनमोर्चाको आरोप छ । अध्यक्ष केसीले समर्थन फिर्ता लिएको जानकारी गण्डकी प्रदेशसभालाई दिइसकिएको जानकारी दिए ।
नयाँ सरकारमा जाने नजाने बारे जनमोर्चा अस्पष्ट छ । जनमोर्चालाई मन्त्री बन्न प्रस्ताव आए पनि एमालेले यसबीचमा कपटकपूर्ण काम गरेको जनमोर्चाको बुझाई छ । एमालेले सत्ता संकटपछि मात्र जनमोर्चालाई सम्झिएको अध्यक्ष केसीको बुझाई छ ।
६० सदस्यीय गण्डकी प्रदेशसभामा एमाले २८, कांग्रेस १५, माओवादी १२, राष्ट्रिय जनमोर्चा ३ र जनता समाजवादीका २ सदस्य छन् । सरकार कायम राख्न मुख्यमन्त्री गुरुङलाई ३१ सदस्यको साथ चाहिन्छ । उनलाई थप तीन प्रदेशसभा सांसद आवश्यक पर्नेछ ।
