गैडाकोट फुटबल क्लबले जित्यो देवचुली मेयरकपको उपाधि
नवलपरासी, ३ बैशाख । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा भएको देवचुली मेयर कपको उपाधी गैडाकोट फुटबल क्लबले जितेको छ ।
गैडाकोट फुटबल क्लब र भानु युथ एकेडमीबीच विहीबार भएको फाइनल खेलमा गैडाकोटले भानु युथलाई ट्राइबेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि कब्जा गरेको हो ।
निर्धारित समयमा दुवैतर्फबाट १–१ गोल भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो ।
देवचुली नगरपालिकाको सहयोगमा देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना र फारम खेलकुद विकास समितिको सहआयोजनामा भएको देवचुली मेयर कपको विजेता गैडाकोटले जितसँगै १ लाख ५० हजार रुपैयाँ नगद जितेको छ भने उपविजेता भानु युथ एकेडमीले ७५ हजार रुपैयाँ नगद राशी जितेको छ ।
फाइनल खेलमा गैंडाकोट फुटबल क्लबका आश गुरुङ म्यान अफ दि म्याच भएका थिए ।
त्यस्तै बरटाँडी युवा क्लबका रोशन क्षेत्री सर्वाधिक गोलकर्ता, भानु युथ एकेडेमीका सन्जिव मोक्तान सर्वाेकृष्ट खेलाडी र गैंडाकोट फुटबल क्लबका विधान बोहरा सर्वाेकृष्ट गोलरक्षक भएका छन् ।
चैत १७ गतेबाट संचालित प्रतियोगितामा जिल्ला भरीका १६ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको समापनमा देवचुली नगरपालिकाका नगर प्रमुख पुर्णकुमार श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगिता समापन कार्यक्रम देवचुली नगर युवा तथा खेलकुद विकास समितिका अध्यक्ष भीमलाल तिवारीको अध्यक्षतामा भएको थियो ।
