चितवनमा कोरोना : मृत्युदर बढ्दै, एक सातामा चारको मृत्यु




भरतपुर । चितवनमा शुक्रबार पनि एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालको कोभिड आइसोलेसनको भेन्टिलेटरमा उपचाररत भरतपुर–१७ का ८१ वर्षीय पुरूषको शुक्रबार मृत्यु भएको हो । ती पुरूषको मृत्यु भएपछि चितवनमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ११४ पुगेको छ ।

पछिल्लो समय चितवनमा गम्भीर खालका सङ्क्रमितको संख्या बढ्दै जाँदा मृत्युदर पनि बढ्दै गएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । गत एक हप्ताको नतिजा हेर्ने हो भने चितवनमा बाहिरका एक जनासहित चार जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् ।




यसअघि भरतपुर अस्पतालमै उपचाररत भरतपुर–११ की ६७ वर्षीय महिलाको बिहीबार उपचारकै क्रममा मृत्यु भएको थियो । गत चैत ३० गतेसम्ममा कोरोना सङ्क्रमणका कारण १११ जनाले ज्यान गुमाएका छन् । त्यसयतामात्रै एक जना बारा जिल्लाका र तीन जना चितवनका कोरोना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन् ।

पछिल्लो समय लक्षण देखिइसकेका बिरामीले मात्रै कोरोना भाइरस सङ्क्रमणको जाँच गर्न जाने हुँदा गम्भीर खालका बिरामीको संख्या बढ्न थालेको उनले बताइन् ।

भरतपुर अस्पतालको कोरोना आइसोलेसनमा हाल १८ जना छन् । ९ जना सघन उपचार कक्ष (आइसियू)मा रहेका भरतपुर अस्पतालका सहायक सूचना अधिकारी नारायणप्रसाद रिजालले जानकारी दिए । चितवन जिल्लाको मात्रै तथ्याङ्क हेर्ने हो भने अस्पतालको आइसोलेसनमा २६ जना उपचाररत छन् । सक्रिय सङ्क्रमितको कुल संख्या भने ११७ पुगेको छ । तीमध्ये ९१ जना होम आइसोलेसनमा छन् । कुल सङ्क्रमितको संख्या भने सात हजार ३२ जना पुगेको छ ।



सम्बन्धित
Loading...