महाभूकम्पको पाँच वर्ष : पुनर्निर्माणको चरणमा ७६ विद्यालय, २७ करोड बढी बजेट अपुग
भरतपुर । महाभूकम्पले चर्काएको चितवनका ७६ वटा विद्यालयका भवनहरु पुनर्निर्माणको चरणमा छन् । गत आर्थिक वर्ष २०७६÷७७ मा सम्झौता भएका ७६ वटा विद्यालयका २६० वटा कक्षाकोठा निर्माणाधीन अवस्थामा रहेका हुन् ।

विद्यालयहरुको औसत भौतिक प्रगति ७५ प्रतिशत पुगेको जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) चितवनले जनाएको छ । कतिपय विद्यालयहरुले भौतिक प्रगतिअनुसार बजेट प्राप्त गर्न सकेका छैनन् । सम्झौता भएअनुसारको रकम राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नपठाएपछि बजेट अपुग भएको हो ।
५२ वटा चार कोठे, ४ वटा तीन कोठे र २० वटा दुई कोठे भवनहरु निर्माणाधीन अवस्थामा छन् । स्थानअनुसार एउटा चार कोठे भवनका लागि ४५ देखि ७० लाख, एउटा तीन कोठे भवनका लागि ३६ लाख र एउटा दुई कोठे भवनका लागि २५ लाख रूपैयाँमा सम्बन्धित विद्यालय व्यवस्थापन समितिसँग सम्झौता भएको थियो ।
स्थानीय तहअनुसार भरतपुर महानगरका ३० वटा, रत्ननगरका ८ वटा, खैरहनीका ६ वटा विद्यालय पुनर्निर्माण हुँदैछन् । त्यस्तै, राप्ती, कालिका र माडीका ७÷७ वटा र इच्छाकामनाका ११ वटा विद्यालय भवन निर्माणाधीन अवस्थामा छन् ।
बजेट अभाव भएपछि भौतिक प्रगति उल्लेख्य भएका विद्यालयलाई पनि भुक्तानी दिन नसकिएको जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) चितवनका प्रमुख लोकनाथ आचार्यले बताए । ‘विद्यालयको काम भएअनुसार पनि भुक्तानी दिन सकेका छैनौँ’, उनले भने, ‘थोरै–थोरै मात्रै दिएका छौँ । काम सम्पन्न भएपछि त जसरी पनि दिनैपर्छ । माथिबाट आवश्यक बजेट आउँछ भन्नेमा आशावादी छौँ ।’
७६ वटा विद्यालयको भवनको काम आउँदो असारसम्मका सक्ने लक्ष्य रहेको उनले बताए । विद्यालय भवनसँगै ५४ वटा विद्यालयमा शौचालय र ५१ वटा विद्यालयमा खानेपानी व्यवस्थापनसम्बन्धी कामहरु भइरहेको छ । विद्यालय भवन, शौचालय र खानेपानी व्यवस्थापनका लागि २७ करोड १९ लाख ३० हजार रूपैयाँ बजेट अपुग भएको उनले बताए ।