चितवनमा कोरोना पुष्टिको एक वर्ष पूरा

रत्ननगर । राप्ती नगरपालिका–८ बह्मनगर गाउँकी विनाकुमारी पुनलाई कोरोना सङ्क्रमण पुष्टि हुँदा छिमेकी रामकृष्ण केसीको होसहवास उड्यो । उनलाई २०७७ साल वैशाख ५ गते अर्थात् एक वर्षअगाडि आजकै दिन कोरोना पुष्टि भएको थियो । उनी ब्रह्मनगरकी मात्र होइन, जिल्लाकै पहिलो कोरोना सङ्क्रमित हुन् । सङ्क्रमित पुनको घरै जोडिएका केसीलाई अब कोरोनाले लैजान्छ कि भन्ने डरले सतायो । तर, सम्हालिनुको विकल्प थिएन ।
बेलायतबाट कान्छो छोरा बाबुराम पुनसँगै काठमाडौँ आएकी विना र हङकङबाट काठमाडौँ आएका माइलो छोरा मिलन गरी तीन जना कार रिजर्भ गरेर ब्रह्मनगरस्थित निवासमा आएका थिए । उनीहरु २०७६ चैत १५ गते घर आएका हुन् । आमासँगै दुई छोरा विदेशबाट आएको जानकारी पाएपछि वैशाख ३ गते विना र बाबुरामको एन्टिबडी परीक्षण गर्दा ‘पोजेटिभ’ देखियो ।
उनीहरुलाई सोही दिन भरतपुर अस्पतालको आइसोलेसन सेन्टरमा राखियो । विनाको वैशाख ५ गते पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखियो । त्यसको तीन दिनपछि कान्छो छोरा बाबुरामलाई समेत कोरोना पोजेटिभ देखियो । बेलायतबाट आएका आमाछोरालाई कोरोना पुष्टि भएपछि ब्रह्मनगर गाउँमा सन्नाटा नै छायो । उनीहरुलाई कोरोना पुष्टि भएपछि राप्ती नगरपालिकाले वडा नै सिल गरेर घरका अन्य परिवारलाई ब्रह्मनगर माविको क्वारेन्टाइनमा राख्यो ।
विनाकुमारी पुनले विदेशबाट ल्याएको चकलेट खाएका छिमेकीहरु कति रात निदाउन सकेनन् । ‘घर जोडिएको छिमेकीलाई कोरोना लागेको थाहा पाएपछि त्रासले सीमा नाघ्यो’, छिमेकी केसीले भने, ‘दुई हप्ता निदाउन सकिएन ।’
जताततै मान्छे मरेको मात्र समाचार सुनेका केसीलाई छिमेकीलाई नै कोरोना भएपछि अब बाँचिदैन भन्ने लागेको थियो । तर, दुई हप्तापछि कोरोना परीक्षण गर्दा छिमेकी सबैको रिपोर्ट नेगेटिभ आएपछि बाँच्ने आशा पलाएको केसीले बताए । एकै घरका दुई जनालाई कोरोना पुष्टि भएपछि गाउँका मान्छेहरु एक घरबाट अर्को घरमा आवतजावत नै बन्द भयो । दिउँसो छिमेकीको अनुहार देख्न पनि मुस्किल हुने गरेको थियो । सडकमा डोरी र काठका मुढा राखेर आवतजावत बन्द गरिएको थियो ।