राम जन्मभूमिको आधिकारिकता प्रमाणित गर्नुपर्छ : प्रचण्ड

माडी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रामको जन्मभूमि भन्ने विषय सस्तो लोकप्रियताका निम्ति उठाउने नभई आधिकारिकता प्रमाणित गर्नुपर्ने बताए । उनले भने, ‘यो गम्भीर विषय हो, यस्ता विषय निकै संवेदनशील हुने भएकाले जनताको आस्था, भावना र संवेदनासँग सम्बन्धित ऐतिहासिक, पौराणिक र परम्परासँग जोडिएको हुँदा सस्तो लोकप्रियता प्राप्तिका लागि काम गर्न हुँदैन ।’
यसबाट धार्मिक प्रवद्र्धनमात्रै होइन पर्यटन प्रवद्र्धन गर्नाका साथै जनताको आर्थिक जीवनस्तर उकास्न सहयोग पुग्नेमा जोड दिँदै उनले माडी नगरपालिकाको अयोध्या नै भगवान् रामको जन्मभूमि हो भनेर प्रमाणित भए सबैभन्दा खुसी आफू हुने बताएका छन् ।
अनुसन्धानबाट प्रमाणित भयो भने निकै ठूलो उपलब्धि हासिल हुने भन्दै यो जिल्लाका बासिन्दालाई मात्रै नभएर सिङ्गो राष्ट्रका लागि गौरवको विषय हुने उनको भनाइ थियो ।
एउटा गम्भीर विषयको कुरामा हलुका ढङ्गले लिएर सस्तो लोकप्रियता हासिल गर्न कोही पनि लाग्न नहुने भन्दै उनले भने, ‘प्रचारमुखी होइन, यथार्थमुखी तथ्य, प्रमाण र वैज्ञानिक ढङ्गले अनुसन्धान गर्नुपर्छ, म त्यसमा जिम्मेवारपूर्ण ढङ्गले लाग्ने विश्वास दिलाउन चाहन्छु ।’उनले माडीको अयोध्याधाम नै राम जन्मभूमि प्रमाणित भए त्यसको विकासमा आफू निरन्तर लाग्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए ।
‘नयाँ सरकार आएपछि माडीको विकासले गति लिन्छ’
फरक प्रसङ्गमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकार आएपछि माडीको विकासले गति लिने बताएका छन् । योङ कम्युनिस्ट लिग (वाइसिएल) माडीको नगर भेलालाई सम्बोधन गर्दै प्रचण्डले नयाँ बन्ने जनपक्षीय सरकारले माडीमा बन्न बाँकी आयोजनाहरुलाई युद्धस्तरमा लैजाने बताए ।
‘जब नयाँ सरकार केन्द्रमा गठन हुनेछ तब माडीको विकास, रोजगारी, सुकुमबासी समस्या समाधानका निम्ति र माडीका बाँकी रहेका प्रोजेक्टहरु युद्धस्तरले अगाडि बढ्नेछन्’, उनले भने । वर्तमान ओली सरकारलाई फाल्नका लागि अन्तिम कसरत पनि भइरहेको उनले बताए । अन्य दलहरुसँग मिलेर वर्तमान सरकारलाई ठेगान लगाउने कसरत भइरहेको उनले बताए । ‘अलोकतान्त्रिक सरकारलाई ठेगान लगाउने अन्तिम कसरतमा छौँ’, उनले भने, ‘कर्णालीमा के भयो त्यो हामीले देखेका छौँ, केही दिनभित्र केन्द्रमा नै नयाँ कायापलट हुँदैछ ।’ त्यसपछि फेरि नेपालमा नयाँ युगको सुरूवात हुने उनले बताए ।