झोलुङ्गे पुलको पर्खाईमा सुस्ताबासी
खोलावारि बसेका धेरै यात्रु पारिको डुंगा पर्खिरहेका । केहीको साईकल थियो भने केहीसंग मोटरसाईकल पनि । तीमध्ये केही बिरामी देखिन्थे, केही बालबालीका । चैतको सेतो घाममा खोला किनारको तातो बालुवामा पारिदेखि आउने डुंगाको पर्खाईमा यसैगरी हरेक दिन मानिसको हुल बस्ने गर्दछ ।
वारिदेखि पारि जाने डुंगाले यताबाट लगेका मानिस, चौपाया र सवारी छोडेपछि प्यासेन्जर नभरुन्जेल पारि नै बस्छ । त्यहीं डुंगामा आफ्ना ५२ वर्षीय बुवा पारम यादव आउने भएकाले खोला वारि कुरेर बसेका थिए १८ वर्षीय बब्लु यादव । उनी सुस्ता १ मा बस्छन् । कक्षा १० मा पढ्ने यादव सोमवार विद्यालय गएनन् । घरमा मोटरसाईकल चलाउन जान्ने उनका बुवा र उनीमात्रै छन् ।
हप्तादिनद्खि भैंसी लिएर पारि चराउन पुगेका बुवा घर आउने भएपछि बब्लु सवारी लिएर बुवालाई लिन गएका थिए । पारि गोठ बसालेर हप्तैभरि भैंसी चराउन जानुहुन्छ, उनले भनेर्, अब १ हप्तालाई अन्य साथीले भैंसी हेरिदिने भएपछि बुवा घर आउंदै हुनुहुन्छ ।’ उनीहरुको ३० वटा भैंसी छन् । व्यवसायिक रुपमै भैंसी पालेर यादव परिवारले दुध विक्रि गर्ने गरेको छ । वारि चरन क्षेत्र नभएकाले यताका स्थानियले पारिको खाली जमिनमा गोठ बसालेर भैंसी चराउने र हप्रतादिन उतै बसेर भैंसीको स्याहार गर्ने गर्छन् । पालैपालो बुवा र अन्य गाउंले चरन क्षेत्रमा बस्नुहुन्छ, बब्लुले थपे, आफ्नो पालो भ्याएपछि घर आउने चलन छ ।’
वारि बस्ने अर्को हुलले डुंगा फिर्तीको पर्खाइ गर्छ । यो दृश्य पश्चिम नवलपरासी को सुस्ता गाउंपालीकाको हो । जुन पालीकालाई बीचमा बगेको नारायणी नदीले २ भागमा विभाजन गरिदिएको छ । सुस्ताबासी नै भएपनि खोलावारि बस्ने मानिस सुगम र सुविधामा बसेको महशुस गर्छन् भने पारि का लाई आफ्नो वासस्थान दुर्गम लाग्छ । नारायणी पारिको सुस्ता गाउंपालीका ५ पर्दछ । उक्त गाउंमा ३ सय घरपरिवार बस्छन् । त्यहांका धेरै मानिसको दैनिकी खेतीपाती र चौपाया चरनमा बित्छ । केहीले मजदुरी कामलाई पनि जिवन यापनको माध्यम बनाएका छन् । बिहानको तातो घाम हो् वा सांझको शितल, काम नगरी बस्ने फुर्सद कमै मानिसलाई मिल्छ । खेतमा काम गरेर थाकेका मानिस छहारी खोज्दै रुखको आडमा सुस्ताउंदै गरेको देखिन्थे । बालबालीका माटो र बालुवा खेलाउंदै रमाइरहेका थिए ।
फलाम बिछ्याई ढलान गरेको पक्की सडक र जनता आवास कार्यक्रम अन्तर्गत बन्दै गरेका घरले सुस्ताको अनुहार फेरियो कि जस्तो देखिन्छ । सुस्तावासी भने उस्तै छन् । रुखको आडमा बसेर सडकमा गुडेका मोटरसाईकल र साईकल यात्रीलाई हेरेर दिन बिताउंछन् ८८ वर्षीय बाबुराम थारु । थारु वारि सुस्तादेखि पारि गएको ४५ वर्ष भएछ । पारि गई उनले साढे २ विघाहा जमिन ओगटेर बसे । अहिले त्यहीं जग्गामा ५२ जनाको परिवार बस्छ । थारुलाई राम्रो सडक र नयां घर बनेको देख्दा खुसी लाग्छ । त्यो खुसीमा मिसिएको वर्षौंदेखिको पिंडालाई थारुले यसरी बेलीविस्तार लगाए । म वारिदेखि पारि बसाई सराई गर्दा वस्ती पातलो थियो, मानिस मानिसबीच डरको भाव देखिन्थ्यो, उनले भनेर्, अहिले थोरै भएपनि आत्मीयता बढेको छ ।’ अझैपनि आफुभन्दा अग्रज वा सानो भनी मायाको भावना देखाउने, आदर, सम्मान गर्ने बानी अझैपनि सुस्तावासीमा विकास भइनसकेको थारुले सुनाए ।
पहिलेपहिले डुंगाको १ पटकको यात्रामा १० रुपैयां मात्र खर्च हुन्थ्यो । अहिले ५० रुपैयां प्रति व्यक्ति लाग्छ । त्यहीपनि खोला तारिदिने भएपछि मानिस यसको प्रयोग गर्न सहज मान्छन् । युवा तन्नेरी पौडी खेलेरै वारपार गर्ने गरेको बताउंछन् । खोला वारपार गर्न पुल निर्माण भइरहेको छ । पुल बनेपछि धेरै सहज हुने स्थानियको भनाई छ । सोलार ग्रिडबाट हरेक घरमा बत्ती बोल्छ । टिभी, फ्रिज चलाउनेहरुले मासिक ४ सय रुपैयां तिर्छन् भने बत्ती मात्रै बाल्नेले २ सय । पिउने पानीका लागि हरेक घरमा नल्का छ । पानी आर्सेनिक जन्य छ वा छैन भन्ने जांच कसैले गरिदिएको छैन ।
शिक्षा, स्वास्थ्य र सरसफाई
गाउंमा एकमात्र आधारभुत विद्यालय छ । पहिले रहेका अन्य तीन विद्यालय विस्थापित भए । जनता दलित प्रावी ०७७ मा आधारभुत विद्यालयमा परिणत भएको हो । अहिले विद्यालयमा गाउंका ४ सय ६ विद्यार्थी अध्ययनरत छन् । बांकी १२ जनाले पढाई छाडे । केही भारतमा पढ्छन् । सुस्ता र पारिको बिहारमा घर भएकाले छोराछोरी उतै पढाउंछन् । दलित समुदायको बाहुल्यता रहेकाले विद्यालयको नाममा दलित जोडिएको सहायक प्रधानाध्यापक अरन्जेब खानले बताए ।
हरेक अभिभावकलाई छोराछोरी पढाउनुपर्छ भन्ने राम्ररी थाहा छ, उनले भने, आर्थिक अवस्था कमजोर भएका कारण आफुहरु संगै मजदुरी गर्न लगाउने गरेकाले पढाई छुटाए । विद्यालय ५ सम्म हुंदा त्यती कक्षा पढेपछि विद्यार्थी घरै बस्थे । अहिले आधारभुत भएको छ, कक्षा ८ सम्म पढेर छोड्छन् , उनले भने । खानका अनुसार छोरी मान्छेको १८ वर्ष पुग्दा बिहे गरिदिने र छोराहरुलाई कमाउन पठाउने प्रचलनले शिक्षामा सुस्ताका बालबालीकाको प्रगति त्यती धेरै हुन सकेको छैन । आर्थिक रुपले सम्पन्न स्थानियका छोराछोरी भारतमा पढेर अघि बढिरहेको भन्दै उनले सरकारी विद्यालयमा समेत पढाउन नसक्ने स्थानीयको अवस्था रहेको जनाए ।
विद्यालयको चौर र कक्षा कोठामा पढिरहेका विद्यार्थी र पढाईहेका शिक्षक कसैले मास्क लगाउंदैनन् । समाचारमा भारतमा कोरोना संक्रमण बढीरहेको सुन्ने गरेपनि अहिलेसम्म गाउंमा कोही संक्रमित भएको थाहा नपाएकाले कसैलाई मास्क लगाउनुपर्छ भन्ने अनिवार्यता नरहेको खानले बताए । विद्यालयमा रहेका १० शिक्षक मध्ये धेरै डुंगाबाटै पारि आउने, जाने गर्छन् । पहिलेपहिले ब्यारेजबाटै सवारी लिएर शिक्षक आउने÷जाने गर्थे, उनले थपेर्, अहिले कडाई भएकाले डुंगाको सहायता चाहिन्छ ।’ साधन भएका शिक्षकलाई डुंगाभन्दा भारतीय नाका हुंदै आउन सहज हुने उनको भनाई छ । नाका हुंदै आउन नपाएका शिक्षकलाई वर्षामा थप समस्या हुने भन्दै खानले शिक्षक आइपुग्ने समय हेरेर विद्यालय संचालन गर्नुपर्ने सम्मको बाध्यता हुने बताए । नदीको बहाव बढेपछि डुंगा चल्नै पनि सास्ती हुने गर्छ । जसका कारण मानिसको आवतजावतमा समस्या पर्छ ।
गाउंपालीकाको काम
जनप्रतिनिधी निर्वाचित भएपछि सुस्ताको मुहार बदलिएको गाउंपालीकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए । हामी आएपछि सडक मा आरसिसी सहित पक्की, १ सय किलोवाटको सोलार बत्ती सहित स्वास्थ्य चौकीमा अहेब राखी सेवा दिइरहेका छौं, उनले भने, थप विकासका योजना अघि सरिरहेका छन् । पाण्डेका अनुसार नेपालै पहिलो १ हजार ५ सय ७५ मिटरको लामो पुल बनेपछि खोला वारि पारिका सुस्तावासीलाई जोड्न सहज हुनेछ ।’ सुस्ताको १३ हजार जनसंख्या खोला वारी बस्छ भने २ हजार बढी जनसंख्या खोला पारि । पाण्डेले खोला पारिका सुस्तावासीमध्ये १ सय ५४ घरधुरीले जनता आवास कार्यक्रम मार्फत घर पाएको बताए । अन्य घरधुरी भारतबाट आई सुस्तामा बसेका हुन् ।
नेपाली नागरिकता नभएका सुस्तावासीको भारतमा घर, खेत छ । उनीहरुको भारतीय नागरिकता समेत छ । कुनै न कुनै बाहानामा नेपाली भुमिमा आई वषौंदेखि बसेका उनीहरुलाई न नेपाली नागरिकता दिन मिल्छ न त भारत नै फर्काउन । सुस्तावासीले खोला वारि पनि जग्गा जमिन जोड्ने, सके एण्टा घर नै बनाएर कहिले पारि कहिले वारि गरेर बस्ने गरेका छन् । ०७५ साल भदौमा नाकामा भएको सामान्य विवादपछि भारतीय एसएसबीले नेपालीलाई धेरै दु ख दिने काम गरेको छैन । यहांका मानिस कोरोना त्रास नहुंदो हो त दैनिक बिहारको बजार पुगी उपभोग्य सामान खरिद गरी आउंने गर्थे । नवलपुर देखि मानिस भारतीय बजार धाउने गरेका छन् । नेपाली बजारभन्दा सस्तो पर्ने भएकाले पारि जाने गरेको स्थानिय व्यवसायी अब्दुल वाहब खां ले बताए । ०३० सालदेखि सुस्तावासी भएका उनको अहिलेसम्म पनि नागरिकता छैन । उनलाई यहां बस्ने अनुमति भएपनि अन्य सुविधाबाट बन्चित भएको खां ले गुनासो गरे । ६५ वर्ष पुगेका उनी दिनहुं साईकल लिई डुंगाबाट वारि बजार आई ५० किलोसम्म सामान खरिद गरी पारि जाने गर्छन् र्। घरमा किराना पसल छ, उनले भने, भारतको नाका बन्द भएकाले वारि सुस्ता आई किन्ने गरेको छु ।’ गाउं सानैभएपनि व्यापार राम्रै चलेको उनले बताए । सुस्तामा आईसी पैसा समेत चलनमा रहेको उनले बताए ।
पश्चिम नवलपरासीको नेपाल भारत विवादित क्षेत्र सुस्तामा कुनै सिमा स्तम्भ छैन् । विवादित भएपछी केही स्थानमा घोला र एक स्थानमा सिमलको रुखलाई सिमा स्तम्भ मान्दै आएका छन् , जुन आधिकारिक होईनन् । २०६० सालमा सिमा सम्बन्धी विवादले ठुलोरुप लिएपछी २०६५ सालमा नवलपरासीका तत्कालीन प्रमुख जिल्ला अधिकारी गोविन्द खनाल नेतृत्वको टोली र भारतिय अधिकारीबीच एउटा सिमलको रुखलाई आधार मानेर नेपाल र भारतको सिमा छुट्टाइएको थियो ।
पुर्व तर्फ सिमलकोरुखलाई आदार मानिएको भएपनि दक्षिण र पश्चिम तर्फको सिमाविवाद कायमै रह्यो । नेपालीले खेती गरीरहेको स्थानमा भारतीय एसएसबी आएर खनजोतमा रोक लगाउने र बार्ताको नाममा विवादित भन्दै नेपालीभुमीलाई प्रयोग विहिन बनाउने रणनितिमा भारतीय पक्ष रहेको सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल गुरु¨ले बताए । ‘सिमा सुरक्षा बल (शसस्त्र प्रहरी)को पोष्ट स्थापना नहुदा सम्म भारतले एकोहोरो अतिक्रमण गर्दै आएको थियो ।’ गुरुङले भने, – ‘नेपाली सुरक्षाकर्मीको उपस्थिती भएपछी अहिले अतिक्रमण र दमन गर्न भारतीय पक्षले आट गरेको छैन् । तर पनि बेलाबेलामा सिमानाका हुदै हिडडुल गर्ने स्थानीयलाई भने दुःख दिने गरेको छ । ’
तत्कालीन अवस्थामा भारतिय एस एसबीले पटक पटक दुख दिदै आए पछि आजित बनेका स्थानीय र प्रशासनले समेत सहमतिमै लालपुर्जा सहितको भुमिलाई विवादितमा राखेर सिमा कायम गर्नु नै ठुलो भुल भएको संविधान सभा सदस्य देवकरण कलवारले बताए । ‘स्थानीय र जिल्ला तहबाट यसको कुनै पनि समस्या समाधान हुदैन् । प्रधानमन्त्री स्तरीय बैठकबाट यसको टुंगो लगाउनु पर्ने भएपनि नेपाली पक्षले यसबारेमा भारतसंग कुरा राख्न नै नसक्नु हाम्रो लागि दुर्भाग्य हो ।’कलवारले भने,‘ मैले पटक पटक संसदमा यस विषयमा कुरा उठान गरेपनि सुनुवाई भएन् । ’
नारायणी नदी तरेर प्रशासनिक कामका लागि वारी आउनुपर्ने सुस्ताबासीको दैनिकी हो । रातको समयमा विरामी भएमा वा अन्य अत्यावश्क कामका लागि सुस्ताबासी भारतीय भुमीहुदै हिडडुल गर्नुपर्दछ । तर , समय समयमा भारतीय एसएसवीले दिने दुःखको कारण उनीहरु समस्यामा छन् ।
‘जिल्ला स्तरबाट प्रशासनले अहिले कायम भएका सिमा स्तम्भ र नेपाली भुमिको रक्षा गर्ने काम हुने गर्दछ । ’पश्चिम नवलपरासीबाट विहिबारमात्र सरुवा भएका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले भने,‘नाप नक्साको काम नापि विभागबाट दुबै देशका अधिकारीको रोहबरमा हुने गर्दछ । म जिल्लामा हुदा सामान्य विवाद बाहेक सिमा समस्याको विषयमा ठुला विवाद आएनन् । ’
तिन तिर भारतको बिहार र एकातर्फ नारायणी नदिले घेरिएको सुस्ताको कुल क्षेत्रफल ४० हजार ९ सय ८० हेक्टर मध्ये भारतले १४ हजार हेक्टर अतिक्रमण गरेर आफ्नो नो कब्जामा लिएको छ भने १९ हजार ४ सय ८० हेक्टर क्षेत्रफल विवादित भन्दै जोतभोग गर्न दिएको छैन् ।सुस्ताबासिले जम्मा ७ हजार ५ सय हेक्टर क्षेत्रफलको भुमि मात्रै जोतभोग गर्दे आएका छन् । पश्चिम नवलपरासीको नेपाल भारत सिमामा रहेका १६ वटा सिमा स्तम्भ छन् । जिल्लाको सनही देखी कुडीया सम्म १६ वटा सिमा स्तम्भ भएपनि सुस्ताको २४ किलोमिटर क्षेत्रमा सिमास्तम्भ छैन् । सिमा स्तम्भ नभएका ठाउंमा खोला ,रुख वा अन्य जैवीक सिमानाको भर पर्दा जोतभोगका विषयमा सिमावर्तीका नागरिक बिच पटक पटक विवाद हुने गरेको छ ।





