भारतको टाङमुनि छिरिनैसके ओली : शेरबहादुर देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली भारतको शरणमा पुगेको आरोप लगाए ।
सोमबार नेपाल विद्यार्थी संघको ५२ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले भारत विरोधी नाराबाट उदाएका ओली अहिले भारतसामु त्वंशरणम् भएको बताए । त्यसैले प्रधानमन्त्री ओलीसँग कुनै राष्ट्रवाद नरहेको पनि स्पष्ट पारे । कम्युनिष्टहरु अवसरवादी भएकाले अहिले नै कांग्रेसको नेतृत्वमा सरकार बन्ने खालको परिस्थिति आइनसकेको बताए ।
आशा नभए पनि सम्भावना भएकाले आफूले सरकार परिवर्तन गर्ने विषयमा छलफल गरिराखेको पनि बताए । उनले भने, ‘हिजो सबैभन्दा राष्ट्रवादी भन्ने ओली अहिले इन्डियाकोको त्वंशरणम् भए । भारत विरोधी नाराबाट झुल्केका ओली अहिले भारतको टाङमुनि छिरिनै सके । कहाँ छ उनको राष्ट्रवाद । त्यसकारण यिनीहरु राष्ट्रवादी पनि होइन, केही होइन । यिनीहरु खाली एउटा अवसरवादी हुन् । त्यसकारण हेर्दै जाऔं परिस्थिति के हुन्छ । मैले धेरै आशा पनि राखेको छैन र सम्भावना पनि उत्तिकै छ । राजनीति भनेको सम्भावनाको खेल पनि भन्छन । आर्ट अफ पोसिबिलिटी पनि भन्छन त्यसकारण हामीहरु लागिरहेका छौं ।’
आफूले प्रधानमन्त्री ओलीलाई हटाउन नचाहेको भन्ने कुरा सत्य नभएको पनि सभापति देउवाले बताए । ओली सरकारले हरेक ठाउँमा हतकडी लगाएर राजनीतिलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको पनि बताए । त्यसैले ओलीलाई हटाउने कुरामा सल्लाह भइराखेको र अहिले नै भन्न सक्ने स्थिति नरहेको बताए । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार बन्न नसक्ने पनि सभापति देउवाले बताए ।
उनले भने, ‘नेपालमा धेरै ठूलो चुनौती आएको छ । प्रजातन्त्रमाथि खतरा आएको छ । एकातिर ओलीको सरकारले सम्पूर्ण राजनीति हरठाउँमा हतकडी लगाएर कन्ट्रोल गर्न खोजिरहेको छ । अर्कोतिर पाण्डामिकको पनि हाहाकार छ । त्यसैले ओलीलाई हटाउन चाहिहाल्छु नि किन चाहँदैन मैले । कुरा के हो भने स्योरसट हुनुपुग्यो। त्यो सम्बन्धमा सल्लाह पनि हुँदैछ । अहिले मैले केही भन्न सक्ने अवस्था छैन । झुट बोलेर काम पनि छैन् ।
