विद्यालयमा नयाँ प्रविधिबाट पठनपाठन सुरु
पश्चिम नवलपरासीस्थित सुनवल नगरपालिकामा रहेका माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई नयाँ प्रविधिका माध्यमबाट पठनपाठन सुरु भएको छ ।
सुनवल नगरपालिकाभित्र रहेका माध्यमिक तहका विद्यार्थीका लागि मङ्गलबार देखि नयाँ प्रविधिका माध्यमबाट पठनपाठन सुरुगरिएको सुनवल नगरपालिकाका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद गोतामेले बताए । गोतामेका अनुसार पहिलो चरणमा कक्षा १० का विद्यार्थीलाई केन्द्र बनाएर तयार पारिएको डिजिटल शिक्षण सामग्री नेट र प्रोजेक्टरको माध्यमबाट अध्यापन गराइने छ।
पहिलो चरणमा कक्षा १० का विद्यार्थीको विज्ञान, गणित, अङ्ग्रेजी एवं अर्थशास्त्र विषयलाई उक्त माध्यमबाट पढाउन सुरु गरिएको हो । इनोभेटिभ ग्रुप अफ नेपाल नामक संस्थाले तयार पारेको यो डिजिटल शिक्षण सामग्री र शिक्षण पद्धतिलाई नेपाल सरकारले पनि मान्यता दिएको बताइएको छ ।
नेपाल सरकारको पाठ्यक्रमअनुसार तयार पारिएको डिजिटल शैक्षिक सामग्री विद्यार्थी सामु प्रोजेक्टरका माध्यमले बोर्डमा कम्युटरले नै पढाउने गर्छ । पढाइ भएको शीर्षकमा विद्यार्थीले कति बुझे वा बुझेनन् भन्ने कुराको जाँच गर्नका लागि सोही शीर्षकमा प्रश्नहरू आउने गर्छन् । पढाइएको शीर्षकमा गरिएका प्रश्नको उत्तर विद्यार्थीले कक्षा कोठामा नै दिने नियम छ ।
विद्यार्थीले दिएको उत्तरका आधारमा विद्यार्थीले कुन शीर्षकको कुन कुरा बुझेन भन्ने कुरा पनि कम्प्युटरले नै बताइदिने प्रविधिको विकास गरिएको बताइएको छ ।