भरिए लुम्बिनी प्रदेशका कोभिड अस्पताल, उपचार नपाउँदा केहीलाई हेलिकप्टरबाट काठमाडौँ लगियो
बुटवल- पछिल्लो समय कोरोना भाइसर संक्रमण फेरी फैलिएसँगै अस्पतालका आइसियुहरु पनि भरिएका छन्। लुम्बिनी प्रदेशका चारवटै कोरोना अस्पतालमा अहिले नयाँ विरामीको लागि बेड पाउन सक्ने अवस्था छैन।

रुपन्देही र आसपासमा कोरोना संक्रमण बढेसँगै चैत्रको तेस्रो साताबाट बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा रहेको आइसियु कक्षमा विरामीहरु बढ्न थाले। मंगलबार अस्पतालका आइसियुका सबै १३ बेड भरिए।
अघिल्लो दिनदेखी अस्पतालमा नयाँ विरामी राख्ने अवस्था नभएको लुम्बिनी प्रादेशीक अस्पतालका बुटवलका सुचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । ‘अहिले १३ वटा बेड छ। सबै प्याक छ। नयाँ विरामी आए भने राख्ने ठाउँ नै छैन।’ उनले भने ‘वेड नपाउँदा भैरहवा पठाइएको छ। कोही काठमाडौँ रिफर हुनुभएको छ।’
बुटललमा बेड भरिदै गएपछि विरामीहरुलाई रिफर गरेर भैरहवामा पठाइएको थियो। भैरहवाको भिम अस्पतालमा ५ वेडको आइसियु कक्ष छ । २२ बेडको एचडियु कक्ष छ । बुटवलबाट रिफर भएका गम्भीर विरामी आइसियुमा र अन्य कतिपयलाई एचडियुमा भर्ना गरिएको थियो।
भैरहवाका आइसियु र एचडियुका बेड पनि बुधबार साँझ भरिएको भिम अस्पतालका कोरोना फोकल पर्सन डा. आरिफ हुसेनले बताए। ‘धेरै जना बुटवलबाटै रिफर भएर आउनुभएको छ। ऋहिले आइसियु र एचडियु सबै भरियो।’ उनले भने ‘आज विहानबाट ५ जनालाई फर्काइसकेका छौ, विरामी राख्ने ठाउँ नै छैन।’
बुटवल र भैरहवामा दुबैतिर बेड नपाएपछि कतिपयले हेलिकप्टर चार्टर गरेर विरामी काठमाडौँ पु¥याएका छन्। आर्थिक अवस्था कम्जोर भएका कतिपयले भगवान पुकार्नुपर्ने अवस्था छ।
उता बाँकेको कोहलपुरमा रहेको भेरी अस्पतालमा पनि आइसियु र एचडियुमा गरेर ३० जना छन्। त्यसबाहेक सामान्य बेड सहित कुल १ सय ४२ बेड रहेको छ। कोरोना संक्रमितले सबै वेड भरिएको भेरी अस्पतालका मेडिकल सुपरिटण्ट डा. प्रकास थापाले बताए। ‘एक हप्ता जति भयो भरिन थालेको । विस्तारै बेड संख्या बढाउँदै लगेर अहिले १ सय ४० बेड पु¥याएका छौं। सबै प्याक छ।’ उनले ‘अब बढाउन सक्ने अवस्था नै छैन।’ डा. थापाले सबै १ सय ४२ वटा वेडमै अक्सिजन पाइपलाइन जोडेको र विरामीको अवस्था अनुसार आइसियु र एचडियुु सेवा दिन सकिने बताए।