दाङमा १२ वर्षीय बालक मृत फेला
दाङको तुलसीपुरस्थित मामाघरमा बस्दै आएका १२ वर्षीय एक बालक मृत फेला परेका छन्।
जिल्लाको दंगिशरण गाउँपालिका वडा नं. २ घर भई विगत पाँच वर्षदेखि तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ गिधनियास्थित मामाको घरमा बस्दै आएका विपिन चौधरी शुक्रबार बिहानै झुण्डिएको अवस्थामा फेला परेका हुन्। मामाको घर नजिकै बाख्राको लागि घाँस टंगाउन बनाइएको बलोमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा बालक फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता डिएसपी झलकप्रसाद शर्माले बताए।
घटनास्थल पुगेका प्रहरी निरीक्षक पौडेलका अनुसार विपिन विगत पाँच वर्षदेखि मामाको घरमा बस्दै आएका थिए। उनी स्थानीय सरकारी विद्यालयमा पढ्दै आएका थिए। बिहान ६ बजे नै झुण्डिएको अवस्थामा फेला परेको हुँदा उनको मृत्यु राति नै भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ।
‘विपिनका बुवा पनि सँगै रहेको खुल्न आएको छ,’ पौडेलले भने, ‘तर, आमा भने काम विशेषले अघिल्लो दिन मात्रै दंगिशरणस्थित घरमा गएको हुँदा बिहान मात्रै आउनु भएको हो।’घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।