क्रान्तिकारी पत्रकार महासंघ १ नं. प्रदेशको भेला सम्पन्न

विराटनगर, २४ माघ । क्रान्तिकारी पत्रकार महासंघकाे प्रदेश नं. १ काे सुनसरी इटहरीमा भएकाे प्रदेश भेलाले मधुकर थापाकाे संयाेजकत्वमा १३ सदस्यीय प्रदेश कमिटि गठन गरेकाे छ ।
विहीबार भएकाे भेलाले प्रदेश समितिका अन्य सदस्यहरुमा मनोजसिंह कार्की (विराटनगर), पासाङ तामाङ र यनिसा राई(सुनसरी), नरेश राउत (उदयपुर), सायाहाङ्ग राई (भोजपुर), विश्वबन्धु राई (खोटाङ) लगायत लगायतलाई चयन गरेकाे छ ।
नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य प्रतीकको प्रमुख आतिथ्यतामा भएकाे भेलामा पार्टी पीविएम तथा १ नं. प्रदेशका सचिव लालबहादुर, केन्द्रिय सदस्यहरु मनोज, गणेश, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सचिव रामकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्का, पार्टी केन्द्रीय प्रचार विभागका सदस्य विधुर ढकाललगायत नेताहरुको उपस्थिति रहेको थियो । प्रमुख अतिथि प्रतीक, क्रान्तिकारी पत्रकार महासंघका सचिव श्रेष्ठ, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्कालगायतले भेला तथा निर्वाचित कमिटिलाई शुभकामना तथा बधाई दिएका थिए । भेलाको अध्यक्षता पत्रकार मधुकर थापाले गरेका थिए ।
निर्वाचित कमिटिको प्रथम बैठकले संगठनको राष्ट्रिय सम्मेलनलाई लक्षित गरी जिल्लाहरुमा भेला तथा सम्मेलन गर्ने, प्रतिनिधि पर्यवेक्षकहरु छनौट गर्ने, पेशागत मुद्दाहरु तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विषयहरुलाई लिएर प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउने लगायत महत्वपूर्ण निर्णय गरेको छ ।
भेलाअघि नेकपा (क्रान्तिकारी माओवादी) १ नं. प्रदेशको प्रचार विभागको आयोजनामा दुई दिने पत्रकारितासम्बन्धी तालिमको आयोजना गरिएको थियो ।
