गोरखा र तनहुँका चितुवाको उपचार चितवनमा

सौराहा । कोरोना भाइरस सङ्क्रमणको जोखिम फेरि बढेपछि सौराहा सुनसान छ । यहाँको पर्यटन व्यवसाय सुनसान भएर व्यवसायी फुर्सदमा भए पनि राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्रका कर्मचारी भने घाइते वन्यजन्तुको हेरचाहमा व्यस्त छन् ।
विशेषगरी, गत मंसिर महिनामा वन्यजन्तुको उपचार गर्ने अस्पताल खुलेदेखि यहाँका कर्मचारीलाई थप व्यस्त बनाएको छ । केन्द्रले चितवन राष्ट्रिय निकुञ्ज कार्यालयसँगको सहकार्यमा यहाँ अस्पताल सञ्चालनमा ल्याएको हो । अहिले यही अस्पतालमा दुईवटा घाइते चितुवाको उपचार भइरहेको छ ।
यही वैशाख ४ गते गोरखा र तनहुँबाट एकैदिन दुईवटा चितुवा केन्द्रको टोलीले उद्धार गरेर ल्याएको हो । केन्द्रका प्रमुख डा. बाबुराम लामिछानेका अनुसार गोरखाको दरबुङमा घरपालुवा जनावर खाइदिने समस्या दैनिक बढ्न थालेपछि स्थानीयले थापेको खोरमा परेको वयस्क भाले चितुवालाई चितवन ल्याइएको हो ।
‘अर्कोचाहिँ कसरी नियन्त्रणमा आयो भन्ने जानकारी भएन, तर डिभिजन वन कार्यालय तनहुँले आफ्नो नियन्त्रणमा रहेको जानकारी गराएपछि हामीले यहाँ ल्याएका हौँ’, उनले भने, ‘अहिले उपचार चलिरहेको छ ।’ गोरखाबाट ल्याएको चितुवा पूर्णरुपमा स्वस्थ भइसकेकोले अबको केही दिनमै पुनः डिभिजन वन कार्यालयलाई बुझाउने तयारी भइरहेको उनले बताए ।