एकैदिन २८ सङ्क्रमितको मृत्यु, चितवनमा १२ दिनमा २१८ जना थपिए




भरतपुर । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या हालसम्मकै उच्च रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार मन्त्रालयले गरेको प्रेस भेटघाटका क्रममा नेपालका विभिन्न अस्पतालमा चौबीस घन्टामा २८ जनाको मृत्यु भएको जनाएको हो । यो हालसम्मकै उच्च हो ।

नेपालमा गत चौबीस घन्टामा ३ हजार ३२ जना सङ्क्रमित भएका छन् । यससँगै कोरोना सङ्क्रमितको संख्या तीन लाख नाघेको छ । आइतबारसम्म कुल सङ्क्रमितको संख्या तीन लाख ११९ पुगेको मन्त्रालयले जनाएको छ ।




यस्तै, गत चौबीस घन्टाभित्र निको हुनेको संख्या ४५० पुगेको छ । यससहित २ लाख ७७ हजार ५७३ जना निको भएको पनि मन्त्रालयले जनाएको छ । हालसम्म सक्रिय सङ्क्रमितको संख्या १९ हजार ३८२ पुगेको छ, जसमा सबैभन्दा बढी काठमाडौँ उपत्यकाका छन् ।

चितवनमा पछिल्लो १२ दिनमा २१८ जना कोरोना सङ्क्रमित थपिएका छन् । चैत महिनामा १३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने वैशाख लागेपछि उक्त संख्या थपिएको हो ।

जिल्लामा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको संख्या ३०० नाघेको छ । जिल्लाको सरकारी अस्पताल र मेडिकल कलेज अस्पतालमा गरी सक्रिय कोरोना सङ्क्रमितको संख्या ३२४ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार शनिबार चितवनमा जम्मा दुई जनामा मात्रै सङ्क्रमण देखिएको छ । हाल देखिएका सक्रिय सङ्क्रमितमध्ये २९ जना अस्पतालमा उपचाररत छन् भने बाँकी २९५ जना होम आइसोलेसनमा छन् ।

हालसम्म चितवन जिल्लाभर सात हजार २७५ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा छ हजार ८३५ जना सङ्क्रमणमुक्त भइसकेका छन् । ११६ जनाले कोरोना सङ्क्रमणकै कारण ज्यान गुमाएका छन् । कुल सङ्क्रमितमध्ये चार हजार २६९ जना पुरूष छन् भने तीन हजार दुई जना महिला छन् । चितवनमा हालसम्म ४९ हजार ३७ जनाको कोरोना परीक्षण भएको छ ।



सम्बन्धित
Loading...