नगरचक्रपथ निर्माणमा जुट्दै देवचुली नगरपालिका
रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिका यति बेला नगरचक्रपथ निर्माणमा जुटेको छ । देवचुली नगरपालिका भित्र रहेको १७ वटै वडालाई सडक सञ्जालमा जोड्न र नगर चक्रपथ भित्र सवारी साधन समेत गुडाउने गरी देवचुली नगरपालिका यति बेला नगर चक्रपथ निर्माणमा जुटेको हो ।
साविकका ४ वटा गाविस जोडेर बनेको देवचुली नगरपालिका यति बेला नगर चक्रपथ निर्माणमा जुटेको छ । नगरपालिका भित्र रहेको १७ वटा मध्ये १५ वटालाई प्रत्यक्ष रुपमा छुने गरी र बाँकी २ वटा वडा नगर चक्रपथ भित्र पर्ने गरी देवचुली नगरपालिकाले नगर चक्रपथ निर्माण गरेको हो ।
गत बर्षदेखि काम थालेको नगरपालिकाले अहिले सम्म नगरचक्रपथ निर्माणको ४० प्रतिशत काम सकेको देवचुली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठले बताए ।
नगर चक्रपथ निर्माण भए पनि एउटा वडाको बासिन्दा अर्को वडासम्म सजिलै सार्वजनिक यातायातमा समेत जान सक्ने भएकोले यसले देवचुली नगरबासीलाई फाइदा हुनेमा देवचुली नगरपालिकाका जनप्रतिनिधि ढुक्क छन् ।
दोहोरो सवारी साधन सजिलै हिड्न मिल्ने गरी १० किलो मिटर चौडा हुने गरी निर्माण गरिएको नगर चक्रपथ निर्माण सम्पन्न हुँदासम्म ३५ दशमलब ७ किलोमिटर लामो नगर चक्रपथ निर्माण हुने नगरपालिकाको डिपिआरमा उल्लेख गरिएको छ ।
नगरपालिकाले एकै पटक नगर चक्रपथ निर्माण गर्न नसक्ने सम्भावना भए पनि नगरपालिकाले खण्ड खण्ड गरेर नगर चक्रपथ निर्माण गरेको छ । कतिपय स्थानमा वडामा गएको बजेटबाट नगर चक्रपथ निर्माणमा लगानी भएको छ भने कतिपय क्षेत्रमा नगरपालिकाको सोझै बजेट प्रयोग गरिएको छ ।
गत बर्ष वडा नं. ९ मा ४० लाख रुपैयाँ खर्चेर नगर चक्रपथ निर्माण शुरु गरिएको थियो भने यस बर्ष देवचुली नगरपालिकाको वडा नं. ५, १३, १७ र १ मा निर्माण कार्य चलिरहेको छ ।
नगरपालिकाले तत्काल नगर चक्रपथ भित्र परेका सबै बाटो पक्की गर्न नसके पनि आगामी एक बर्ष भित्र ग्राभेल र पक्की गरी नगर चक्रपथमा सार्वजनिक सवारी साधन चलाउने गरी निर्माण कार्यलाई अगाडि बढाएको देवचुली नगरपालिकाका पूर्वाधार शाखा प्रमुख टिकाराम बस्याल बताउँदछन् ।
नगर चक्रपथ निर्माणका लागि संघीय सरकारले डिपिआर तयार गरिदिने र नगर चक्रपथमा पर्ने देवचुली नगरपालिका १२ मा पर्ने बौलाहा खोलामा पुर्ननिर्माण प्राधिकरणको सहयोगमा पक्की पुल निर्माणको काम बाहेक अन्य काममा नगरपालिकाको चक्रपथ निर्माणलाई कसैले आर्थिक सहयोग गरेको छैन ।
त्यसो त नगरपालिका संघीय सरकारसँग नगरचक्रपथ निर्माणको लागि भनेर यस बर्ष १० करोड बजेट माग पनि गरेको छ । बेलैमा संघीय र प्रदेश सरकारबाट प्रयाप्त रकम आए आगामी आर्थिक बर्षमै नगरचक्र पथ भित्रको सबै सडक सञ्जाल पक्की गराउने नगरपालिकाको लक्ष्य लिएको नगरप्रमुख पूर्णकुमार श्रेष्ठले बताए । तथापि कही कतैबाट सहयोग नभए पनि नगरपालिकाले आफ्नै एकल बजेटबाट भए पनि ढिलो चाँडो नगर चक्रपथका सबै सडक पक्की बनाउने नगरपालिकाको योजना रहेको छ ।
कुनै पनि नगरपालिकाले आफ्ना सबै वडालाई सडक सञ्जालमा जोड्ने गरी नगर चक्रपथ निर्माण गर्नु पक्कै पनि राम्रो काम हो । तथापि नगरको बजेटले मात्र यो काम सक्नु भनेको चानचुने कुरा भने होइन ।
देवचुली नगरपालिकाको महत्वकांक्षी योजना भित्र पर्ने यो नगर चक्रपथ निर्माणका लागि संघीय र प्रदेश सरकारले देखाएको उदासिनता भने पक्कै राम्रो होइन ।
