चितवनका सबै पालिकामा अक्सिजनसहितको आइसोलेसन बनाउन निर्देशन
चितवन । कोभिड–१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्लामा रहेका सबै पालिकालाई अक्सिजनसहितको आइसोलेसन वार्ड तयारी गर्न आग्रह गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी) को सोमबार बसेको बैठकले भरतपुर महानगरमा २०० तथा अन्य पालिकालाई २०/२० शय्या क्षमताको अक्सिजनसहितको आइसोलेसन तयारी अवस्थामा राख्न निर्देशन दिएको हो ।
यस्तै डिसीसिएमसीले चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) लगायतका निजी अस्पतालमा थप आइसोलेसन, एचडीयू, आइसीयू र भेन्टिलेटर निर्माण गरी सङ्क्रमितको सहज उपचार गराउन पनि आग्रह गरेको छ । यसमा सहजीकरण तथा समन्वयका लागि भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीको संयोजकत्वमा रहेको समितिलाई पुनः क्रियाशील बनाउन निर्देशन दिएको छ ।
अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन अनुरोध
कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको भन्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी) ले आग्रह गरेको छ । डिसिसिएमसीले अत्यावश्यक कामले घरबाहिर निस्कन परे स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न पनि आग्रह गरेको छ ।
जिल्लाभित्रका सबै एम्बुलेन्स चालकलाई २४सै घण्टा सेवा दिने गरी तयारी अवस्थामा रहन पनि आग्रह गरेको प्रजिअ लामिछानेले जानकारी दिए । यस्तै भीडभाड हुने हाटबजार बन्द गर्ने तथा सभा, सम्मेलन पनि गर्न नदिने निर्णय गरिएको छ । कार्यक्रम गर्नैपरे स्वीकृति लिएर २५ भन्दा बढी व्यक्ति सहभागी नहुने गरी मात्रै गर्न पाइने डिसिसिएमसीले जनाएको छ । जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ४५८ पुगेको छ । तीमध्ये ४२१ होम आइसोलेसनमा र ३७ जना अस्पतालमा उपचाररत छन् ।